
(आफ्नै कथा, आफ्नै व्यथा र आफ्नै अनुभव) –
सरिता अर्याल-
अमेरिका पैसा कमाउने देश । सुधा पनि यही सोच बनाएर अमेरिका आएकी थिई । पैसै कमाउन अमेरिका आइपुगेकी उसले त्यहा पुग्दा किन पैसा लिएर आउनुपर्यो र ? अमेरिका आइपुग्दा उसको साथमा एक हजार डलर पनि थियो कि थिएन । अमेरिका आउनु अगाडि नै सुधाले उसका दुई जना मित्र, बसन्ती र मधुलाई मेल गरेकी थिई । बसन्तीले उसलाई आर्थिक सहयोग गरिदिन्छु तर म तँलाई वेलकम भने गर्न सक्दिनँ, म नेपाल जाँदै छु भन्ने जवाफ दिएकी थिइ । मधुले भने सुधालाई आफूसितै राख्ने मेल पठाइन् । सुधा अमेरिका पुग्ने दिन बसन्ती नेपाल पुगिसकेकी थिइ । मधुचाहीँ एयरपोर्टमै सुधालाई लिन आएकी थिइन् । सुधा मधुकोमा नै बस्न पुगेकी थिई । अमेरिका आएको भोलिपल्टदेखि सुधाको घुम्ने र मधुको घुमाउने काम शुरु भएको थियो । मधु त सुधा आउने भनेर एक हप्ता बिदा नै लिएर बसेकी थिइन् ।
भर्जिनिया र अमेरिकाको राजधानी वासिङ्टन डिसीका प्रमुखप्रमुख स्थान घुमाइन् मधुले । अमेरिका आएको एक हप्ताभित्रै मधुले सुधालाई तेस्रो ठाउँ पनि घुमाउन लिएर गइन् । भन्डै पाँच घन्टाको बसयात्रापछि उनीहरू एउटा शहरमा पुगे । झिलिमिली बत्तीहरूले सिँगारिएको त्यो शहरमा पन्ध्रबीसवटा गगनचुम्बी महल थिए । अरू सबै तीनचारतले घरहरू । क्यासिनो का लागि प्रख्यात त्यो शहरका ती सबै ठूला महलहरू त क्यासिनोे नै क्यासिनोे पो रहेछन् । उनीहरू चढेको बस एउटा क्यासिनोे भवनमुनि रोकियो । मधुले ब्यागबाट टिकट हातमा लिँदै बसबाट ओर्लिइन् । सुधालाई लाग्यो— ओर्लिनेबेलामा पनि टिकट देखाउनुपर्ने होला । तर बसबाट झर्नेहरू सबै हातमा टिकट लिएर लाइनमा लागे । सुधा पनि लाइनमा लागेर क्यासिनोेभित्र पस्ने होला भन्ने सोच्दै उभिई । लाइनमा मधु अलि अगाडि भएकीले सोध्न पनि पाइन । अरूलाई सोध्ने कुरा पनि भएन । क्यासिनोेको गेटमा दुईजना मानिस बसेका थिए । उनीहरू सबैको परिचय पत्र हेर्दै टिकट लिँदै पैसा दिँदै गरिरहेका थिए । उसले पनि टिकट र पासपोर्ट देखाई र पच्चीस डलर लिई । त्यहाँ पैसा लिनेहरू कोही पैसा लिएर अझ भित्रै पसिरहेका थिए भने कोही पैसा ब्यागमा हालेर जताबाट आएका थिए उतै फर्किंदै थिए । ऊ पनि मधुसितै बाहिर निस्किई र मधुलाई सोधी— किन पैसा दिएका हुन् ? मधुका अनुसार त्यो क्यासिनोेमा बस ल्याएर रोकेपछि मानिस आफ्नो क्यासिनोेमा खेल्न पसून् भनेर आकर्सित गर्न टिकटको आधाभन्दा बढी पैसा फिर्ता दिएका रे । त्यो त क्यासिनोे व्यवसायीको आआफ्नो व्यापार बढाउने चाल रहेछ । मधुले बाटोमा एक जना मानिससित यहाँको सब–वे कहाँ छ भनेर सोधेकी थिइन् । उनीहरू हिँडेरै त्यो मानिसले दिएको ठेगनामा पुगेका थिए ।
सब–वे भनेको त एउटा पाउरोटी बेच्ने पसल भनाँै या रेष्टुरेन्ट पो रहेछ । मानिस आएर सिसाभित्र राखिएका विभिन्न प्रकारका पाउरोटी देखाउँथे । अनि भित्रका मानिसले ग्राहकलाई सोध्दै त्यसमा मासु, हरिया साग र केके हालेर दिन्थे र कोक, फेन्टा, जुस, र कोहीकोही त सुप पनि लिन्थे र त्यहीँ बसेर खान्थे । कोही बोकेर बाहिर निस्कन्थे । ऊ एउटा कुर्र्सीमा बसेर किनमेल हेरिरहेकी थिई । मधुले एउटा मेशिनबाट दुई गिलास कोक भरेर ल्याइन् । उनीहरू त्यहीँ कोक पिउँदै गफ गर्दैथिए । भित्र काउन्टरमा बसेको एक जना कालो साउथ इन्डियनजस्तो मानिस उनीहरूको अगाडि आयो । मधुले हाई भनिन् । उसले पनि मधुको सिको गर्दै भनी— हाई । मधुले दुवैको परिचय गराइदिइन् । त्यो कालोमान्छे त सब–वेको मालिक पो रहेछ । उसको नाम हनिफ, बङ्गलादेशी नागरिक । हनिफले उनीहरूलाई उसकै गाडीमा राखेर एउटा क्यासिनोभित्र लिएर गयो । लिफ्टद्वारा क्यासिनोेको २२ तलामा पुर्यायो । तल क्यासिनो माथि होटेल रहेछ । उनीहरूलाई बस्ने व्यवस्था हनिफले त्यहीँ गरिदिएको रहेछ । रूममा पुगेपछि त्यहीँ राखिएको फ्रीजबाट हनिफले दुईवटा फेन्टा र एउटा कोक निकाल्यो । कोक उसले लियो र फेन्टा उनीहरूको अगाडि राखिदियो । उसले झ्यालको पर्दा खोल्दै भन्यो— यो पाँच तारे होटल हो । एटलान्टिक महासागरको किनारमा रहेकाले यो शहरकै नाम एटलान्टा सिटी हुनपुग्यो । सुधा हनिफका लागि नयाँ मान्छे, त्यसैले खुलेर कुरा गर्न सकिरहेकी थिइन । त्यसैले झ्यालबाट बाहिर हेर्न थाली ।
एकातिर समुद्र, अर्कोतिर शहर । समुद्रको छालमा मानिस पौडिरहेका थिए भने मानिस सडकमा गाडीहरू दगु¥याइरहेका थिए । ओहो, कस्तो रमणीय ! केहीबेरपछि तीनैजना निस्किए होटेलबाट । यो पल्ट हनिफले उनीहरूलाई पछाडिको ढोकाबाट निकाल्यो । ओहो, समुद्रको किनारमा मानिस हिँड्न मात्रका लागि काठैकाठको पुलजस्तो बाटो बनाइएको छ ।समुद्रको छाल घरीघरी काठको पुलमुनि आइपुग्छ जस्तो । तर त्यो समयमा पानी अलि परै थियो । पुलको चौडाइ नै पन्ध्र मिटर जति हुँदो हो । लम्बाइले सबै शहरलाई ढाकेको हो कि जस्तो भान पर्ने । हनिफले उनीहरूलाई कताकता घुमायो । राती एउटा इन्डियन रेष्टुरेन्टमा खाना खाएर उनीहरू फेरि फर्किए क्यासिनोेतिर । अब पालो आयो क्यासिनोेको । हनिफ त पैसा साटेर खेल्न पनि बसिहाल्यो । केही बेरपछि मधुले पनि शुरु गरिन् । मधुले सुधालाई पनि खेल्न जोड गरिन् । मधुलाई उससित कति पैसा छ भन्ने थाहा थिएन । सुधाले भन्नुपर्ने अवस्था पनि आएको थिएन । त्यसै भन्ने कुरा पनि भएन । मधुले धेरै पटक अनुरोध गरेपछि उसले पहिलोपल्ट जिन्दगीमा क्यासिनोेमा ५०० डलर जुवा खेली । परिवारसित बसेर दशैँतिहारमा म्यारिज खेल्नुजस्तो रहेनछ क्यासिनोेको जुवा । पाँच मिनेटमा पाँचसय खत्तम । अब उसको हात पूरै खाली भइहाल्यो । ऊ अमेरिका भर्खर आएकी, पाहुना पैसा छैन भनेर मधुृसित पनि भन्न सकिन । काम पाइहालिन्छ, अनि पैसा पनि भइहाल्ला नि, किन गर्नु प¥यो र पैसाको कुरा । खान बस्न पाइएकै छ ।
———— ———— ———— ———— ———— ————
घुमघाम लगभग सकियो । मधुको काम र जाडोको मौसम एकैसाथ शुरु भयो । अमेरिकाका लागि लिइएको ६ महिनाको भिसाम्याद एक हप्ता मात्र बाँकी रहेको बेला सुधा अमेरिका आएकी थिई । भिसा अनुसार उसले अमेरिकाबाट अब एक हप्तामा इजरायल फर्कनुपर्ने थियो । ऊ इजरायलबाट हिँड्दा त्यहाँ ज्यादै गर्मी थियो । त्यसैले सुधासित गर्मीका लुगा मात्र थिए । हातमा पैसा थिएन, जाडोका लुगा किन्नलाई । काम पाउने पनि कुनै अत्तोपत्तो थिएन । अप्ठेरो परिहाल्यो नि ! सुधालाई जतिसक्दो चाँडो काम चाहिएको थियो । नयाँ ठाउँ, कता जाओस् काम खोज्न, थाहा छैन । सबजना दिनभर काम गर्न जाने, ऊ के गरेर बसोस ?
एक दिन सुधा मधुसितै उसको काम गर्ने ठाउँमा गई । त्यहाँ मधुको सहकर्मी जावेदसँग उसको भेट भयो । ऊ पनि बंङ्गलादेशको नागरिक रहेछ । हनिफ, मधूू र जावेद पहिले एउटै सब–वेमा काम गर्दथे रे । पछि हनिफ अर्को शहर गएर आफँैले सब–वे खोलेर बसेको रहेछ । एकछिनको औपाचारिक कुराकानीपछि जावेदले पनि अहिलेसम्म बेरोजगार नै रहेको थाहा पायो । जावेदले उसलाई भन्यो— दिदी, यसरी अमेरिकामा नबस्नूस्, यहाँ त घण्टाको हिसाबले पैसा पाइन्छ । त्यसैले जति पैसा दिए पनि काम गर्नूस् । पसलपसलमा काम पाइन्छ कि भन्दै सोध्दै हिँडनूस् । एउटा न एउटामा त पाइहालिन्छ नि । जुन काम पाइन्छ, त्यही शुरु गर्नूस् । बिस्तारै राम्रो काम खोज्दै गर्नुपर्छ । एकैपटक राम्रो काम भनेर हुँदैन । जावेदको कुरा सुन्नासाथ सुधाको मनमा पनि के लाग्यो कुन्नि हिँडिहाली काम खोज्छु भन्दै ।
हरेक पसलमा काम छ ? काम छ ? सुधा सोध्दै हिँडथी । काम खोज्नेक्रममा उसको नजर एउटा बोर्डमा प¥यो— “रवि रेष्टुरेन्ट” । रवि रेष्टुरेन्ट भनेपछि त साउथ एसियन नाम भो, शायद मालिक पनि साउथ एसियन नै हो कि भन्ने सोचेर ऊ पसी रेष्टुरेन्टभित्र । भित्र गएर निकै बुजु्रक बन्दै मालिककै बारेमा सोधी— के के न भन्न खोजेको जस्तो गरेर । मालिक त सुधाको अगाडि नै रहेछ । त्यहाँको कामदारले मालिकतिर इसारा गर्दै भन्यो “ओनर उहाँ नै हो ।” उसले सोधेको मालिकले पनि सुनिसकेको थियो । त्यो मालिकले सिधै सोध्यो— क्यौँ क्या काम है आपको मुझसे ? ऊ इन्डियन रहेछ भन्ने उसको प्रश्नबाट नै सुधाले अनुमान गरिहाली । अनि उसले पनि तुरुन्त जवाफ दिई— मुझे काम चाहिए, आपके रेष्टुरेन्टमे है क्या ?
रेष्टुरेन्टको मालिकले भन्यो, “मेरे यहाँ काम होता तो भी मै आपको नाहीँ रखता ।” ओहो, कस्तो कुरा सुधा त छक्क परी । क्यौँ ? मै काम नहीँ कर सकती क्या ? क्या खराबी है मुझमँे ? उसकोे कुरा सुनेर हल्का मुस्कुराउँदै मालिकले भन्यो— आप सुन्दर हो । यहाँ मेरे काम करनेवाले और ग्राहक सब आपको ही देखते रहे तो मेरा तो बिजनेस गया न, इसलिए । रेष्टुरेन्ट मालिकको कुरा सुनिसकेपछि ऊ केही बोल्नै सकिन । मनमनै भनी— कस्तो बिहारीजस्तो रहेछ मोरो । उसलाई रिस उठ्यो तर उसले केही भन्न नपाउँदै मालिकले फेरि सोध्यो— इन्डिया कहाँ से हो ?
सुधाले भनी— नहीँ, मै तो नेपाल से हुँ । मालिकले फेरि भन्यो— मैँने ऐसे ही आपसे मजाक किया । हमारे यहाँ औरतोँ के लिए कोइ काम नहीँ है । हम रेष्टुरेन्टमे औरतोंको रखते ही नहीँ । लेकिन मँै आप को काम दिलवाउंगा, चिन्ता मत करो । मालिकले उसलाई एउटा कागजमा केही लेखेर दिँदै भन्यो— आप इस दुकानमेँ जाइए और रवि रेष्टुरेन्टके मालिक मोहम्मद ने भेजा है बोलिए । उसके पास आपके लायक काम होगा । काम नहीँ मिला तो फिर आइए । मै दुसरी जगह भेजुंगा । जिस्क्याए पनि काम त खोजिदिने भयो भन्ने सोचेर धन्यवाद भन्दै ऊ हिँडी त्यहाँबाट । सुधासित अब एउटा झीनो आशा थियो । काम पाइएला कि भन्ने । सुधा कागजको टुक्रामा लेखिएको ठेगानामा पुगी । मालिकसित केहीबेर कुरा गरेपछि उसले हप्ताको तीन दिन काम पाई । केएफसीमा जस्तै कुखुरा तार्ने काम । सुधालाई काम दिने मालिकले कुखुरा तार्ने भट्टी देखाउँदै उतिर फर्केर सोधेको थियो— काम गर्न सक्छयौ ? ओहो, त्यस्तो चुल्हो त उसले कहिल्यै देखेकी पनि थिइन । खाना त सुधाले धेरै होटेलहरूमा खाएकी थिई तर कहाँ पाक्छ खाना, कसरी पकाइन्छ के थाहा ! उसलाई कुखुराको काँचो मासु देखाउँदै मालिकले भन्यो— यी मासु धोएर मसलामा मोलेर पकाउन सक्छ्यौ ? सुधाले कुखुरा तार्ने काम कहिल्यै गरेकी थिईन । ऊ आफैलाई लाई थाहा भएन— काम गर्न सक्छु कि सक्दिनँ । तर उसलाई त जाडोको लुगा चाहिएको थियो, त्यसैले केही नसोची भनी सक्छु । त्यहाँबाट फर्किएर सुधा रवि रेस्टुरेन्टको मालिकलाई काम पाएँ भनेर धन्यवाद दिन उतै लागी । उसले मालिक नजिक गएर भनी— “थ्याङ्क यू, मुझे तीन दिनके लिए काम मिल गया ।” मालिक आफ्नो कुर्सीबाट उठेर सुधा भएको ठाउँमा आयो ।उसलाई अँगालो मार्दै भन्यो— ठीक है, हम नेपाली पाकिस्तानी एक ही हैँ । यहाँ पर एक दुजेको हेल्प तो करना चाहिए ना ।
सुधालाई बल्ल थाहा भो, त्यो मालिक त पाकिस्तानी पो रहेछ । ऊ त्यो पाकिस्तानीले एकाएक अँगालो मारेको देखेर आत्तिई । सुधा नीलो कालो हुँदै उसको अँगालोबाट बाहिरिई । एक जना नेपाली त्यहाँ काम गर्दोरहेछ । त्यो नेपालीले सुधातिर हेर्दै भन्यो— दिदी, तपाईंं नेपालमा होइन, अमेरिकामा हुनुहुन्छ । किन त्यसरी आत्तिनु भएको ? यहाँका लागि अँगालो मार्नु सामान्य कुरा हो । सुधा अमेरिकामा भए पनि उसको मनस्थिति त नेपाली नै थियो नि । त्यसैले ऊ यत्ति नर्वस भएकी थिई कि उसले त्यो नेपाली केटालाई पनि केही भन्न सकिन । सुधा हतारहतार रेस्टुरेन्टबाट बाहिरिई । भोलिपल्ट समयमा नै ऊ पुगी काम गर्न । काम शुरु भयो, कुखुरा तार्ने । एक पल्टमा एउटा चुलोमा ५० पिस कुखुरा तार्नुपर्ने । चलाउने पन्यूँलाई त सुधाले उचाल्नै दुई हात लगाउनुपर्ने रहेछ । तार्दा त झन् के हालत हुन्थ्यो, त्यो ऊ आज पनि सम्झन चाहन्न । त्यसमाथि लाइनै तीनवटा भट्टी बालेपछि त तेलको रापले हालत झन् खराब । जे भएपनि अमेरिकामा सुधाको काम शुरु भयो । पहिलो दिनको काम सकिएपछि उ घर फर्किइ । बेलुका मधुको फोनमा घन्टी बज्यो ।
गफ गर्दै जाँदा मधुले उसका बारेमा पनि कुरा गर्न थाली । आफ्ना बारेमा फोनमा कोकोसित कुरा गरेको सुनेर सुधा पनि चनाखो भएर वार्ता सुन्न थाली । फोन हनिफले गरेको रहेछ । मधुसित केहिबेर कुरा गरेर हनिफले सुधासित पनि कुरा गर्यो , कामका बारेमा । हनिफलाई थाहा थियो, सुधाले अझै काम पाएकी छैन । हनिफले उसको कुनै साथीलाई भनेर एउटा उसको जस्तै सब–वेमा काम खोजिदिएको रहेछ । सुधाले हनिफसित तीन दिन काम पाएको बताउँदै कुखुरा तार्ने अरू दुई दिन सकिएपछि जान्छु भनी । तीन दिनपछि सुधा फेरि पुगी हनिफले दिएको ठेगानामा । त्यहाँ पुग्न पनि मधुले नै उसलाई मद्दत गरीदिइन् । सुधाले घन्टाको पाँच डलरमा नयाँ काम पाई, काम हप्तामा पाँच दिन गर्नुपर्ने । उसका लागि अब काम नै धेरै भयो । ऊ दुई दिन कुखुरा तार्ने काम गरेर पाँच दिन सब–वेमा काम गर्न थाली । सब–वेमा पहिलो हप्ता उसलाई एक जना स्पेनिश केटीले काम सघाइदिएकी थिई । अर्को हप्तादेखि त्यो केटीले काम छोड्ने भएकीले सुधालाई लिएको रहेछ । सुधाको काम अमेरिकाको राजधानीमा थियो । उसले काम गर्ने पसलमा आउने ग्राहक भने सबैजसो काले मात्र हुन्थे । शायद त्यो कालेको एरिया थियो क्यार । सुधाले एक हप्तामा पाउरोटी सेक्ने, ग्राहकलाई कसरी दिने, पैसा कसरी लिने, सब कुरा सिकी ।
एक हप्तापछि स्पेनिश केटीले काम छोडी । अब त्यहाँ काम गर्ने दुई जना मात्र थिए । सब–वेको साहुका त्यस्ता सात वटा पसल रहेछन् । साहु घरबाट नै सीसी टिभीमार्पmत पसलको निगरानी गर्दोरहेछ । सुधालाई कुखुरा तार्ने भन्दा यो काम धेरै सजिलो र रमाइलो लागिरहेको थियो । सुधाको काम शुरु भएको पाचौँ दिन, तीन बजेतिर, ऊ काम गरिरहेकी थिई । उसको सहकर्मी मुकेशले उसलाई— दिदी, म टमाटर काट्न भित्र जान्छु, ग्राहक आए भने पैसा लिने बेलामा मलाई बोलाउनुस ल ! तपार्इं झुक्किन सक्नुहुन्छ भनेर हिँड्यो ।
केही समयपछि तीनजना काले पसलभित्र पसे । एक जना मूल ढोकामै बस्यो, एउटा अर्डर गर्ने ठाउँतिर आयो । सुधाले पनि स्यान्डविच किन्न आएको होला भनेर कालेको स्वागत गर्दै सिकाएअनुसार हाई, हाउ क्यान आई हेल्प यू भनी । तेस्रो व्यक्ति पछाडितिर लागेको देखेकी थिई । उसले सोची— पछाडि शौचालयतिर लागेको होला । उसले वास्ता गरिन । उसको अगाडि सिसा बाहिर जुन काले उभिएको थियो, उसलाई सोधी के चाहियो ? कालेले भन्यो— ६ इन्च भेज । ऊ कालेले भने अनुसार स्यान्डविच बनाउन थाली । क्यासबक्स अगाडि पुगेपछि सुधाले पैसा लिनेबेला भयो भनेर मुकेशलाई बोलाई । मुकेश आएन । पछाडितिर गएको काले भित्र पसिसकेको रहेछ । एक्कासी उसको कन्चटमा पेस्तोल पो तेर्सायो र भन्यो— ओपन द क्यासबक्स ।
सुधा आत्तिइ । कालेले अब उसलाई मार्ने भो ! सुधाले टाउको मोडेर कालेतिर हेर्न खोजी । टाउको घुमाउँदा उसले पेस्तोल त देखी तर कालेको अनुहार देख्न सकिन । सिनेमामा देखेजस्तो कालो टलक्क टल्किएको पेस्तोल उसको कन्चटबाट टाउको पछितिर लगेर कालेले रिसाएको जस्तो भारी आवाजमा— ‘डाउनडाउन’ भनेर सुधालाई निहुरिन इसारा ग¥यो । ऊ झन् डराई । सुधाले कालेको अनुहार पनि देखिन, पेस्तोलमा नै उसका आँखा पुगेका थिए । उसले त्योभन्दा माथि हेर्न पनि सकिन । डरले पिसाब नै निस्केलाजस्तो भयो । आवाज निस्कने त अवस्थै रहेन । मुकेश पनि कता हो कता ! सुधा डरले कामिरहेकी थिई ।
कामेको कालेले पनि देख्यो होला । कालेले निहुरिन भनेपछि ऊ निहुरिई । अर्को काले जो सुधालाई अर्डर दिईरहेको थियो, ऊ पनि भित्र आयो । भित्र दुई जनाका खुट्टा सुधाले निहुरेर नै देखेकी थिई । एउटाले आएर क्यासबक्स खोल्यो । क्यार्रर उसले आवाज सुनी । साथीसित गफ गर्दै पैसा निकालेको जस्तो उसलाई लाग्यो । उनीहरू अङ्ग्रेजी पनि यत्ति छिटोछिटो बोलीरहेका थिए कि उसले केही पनि बुझेकी थिइन । सुधालाई पेस्तोल तेर्साउने कालेले भन्यो— ह्वेर इज मोर मनी ? ‘अल मनी इज देयर’ उसले क्यास बक्स देखाइदिई । क्यासबक्स देखाउने बेलामा उसले उभिनुपरेको थियो । त्यसबेला उसले दुवै कालेको अनुहार पनि देखी । झन् डर लाग्यो उसलाई । आफ्ना अगाडि यमराजका दुई दूत बसेजस्ता । सुधाले देखाएको बक्सबाट उनीहरूले सबै पैसा निकालिसकेका थिए । त्यसपछि कन्चटमा पेस्तोल तेर्साउँदै कालेले तीनवटा पाउरोटी पनि निकाल्यो र उसलाई तीनवटा स्यान्डविच बनाउन लगायो । कन्चटमा राखेको बन्दुक पड्कियो भने त म गएँ भन्ने सोच्दै सुधा कालेको अर्डरअनुसार स्यान्डविच बनाउन थाली । मृत्युलाई त्यति नजिकबाट देख्नु भनेको यो भन्दा के नै हुन्छ र ! सुधा, ऊ आपूm मरेसरह भएकी थिई । मृत्युको डर कस्तो हुन्छ भन्ने प्रत्यक्ष देखी उसले त्यहाँ । उसले स्यान्डविच बनाइसकेपछि मारेर जाने हुन् कि छोडिदेलान् भन्ने चिन्ता भो उसलाई । मुख सुकेर प्याकप्याक भयो । स्यान्डविच लिएर उनीहरू पसलबाट निस्किए । उफ् तै मारेनन्, मरिएन लौ । लामो सास फेर्दै ऊ थ्याच्च भुइँमा बसी । के गर्नेगर्ने केही सोच्नै सकिन । कुनै मेलो पनि पाइन, अनि पो मुकेशलाई सम्झिई । ऊ भित्र कोठामा दौडिदै गई । मुकेश कतै थिएन । अलिकति मात्र टमाटर काटिएको थियो । ऊ मुकेश–मुकेश भनेर कराउन लागी । मुकेश आइसरूममा पो रहेछ । सुधाको आवाज सुनेपछि मुकेशले आइसरूमको ढोका खोल्यो । उ जाडोले काम्दै बाहिर निस्कियो । कालेले पेस्तोल तेस्र्याएको थाहा पाउनासाथ मुकेश अब मर्ने भइयो भनेर ज्यान जोगाउन पो आइसरूममा पसेको रहेछ ।
सुधा मुकेशलाई केके भयो विवरण सुनाउन थाली । बाहिर पसलमा मानिसको हल्लाखल्ला भयो । ग्राहक आए होलान् भनेर दुवै बाहिर निस्किए । ओहो, बाहिर त पसलभरि पुलिस नै पुलिस । मुकेश र उसले मुखामुख गरे । सुधा बोल्न सक्ने अवस्थामै थिइन । त्यसै बेला पसलको फोनको घन्टी बज्यो । मुकेशले फोन उठायो । फोनपसल मालिकले गरेको रहेछ । मालिकले सुधासित कुरा गर्न चाहेको रहेछ, मुकेशले फोन उसलाई दियो । मालिकले भन्यो— तिमी कत्ति पनि नडराऊ, अब केही हुँदैन । नडराई पुलिसले जेजे सोध्छ सही जवाफ देऊ । म पनि आउँदैछु । पुलिस, अस्पताल र फेटा गुथेका पञ्जाबीदेखि त सुधा सानैदेखि नै औधि डराउथी । त्यो डर उसको मनमा आज पनि थियो । सात समुद्रपार आजै उसको कन्चटमा पेस्तोल तेर्सियो । अब के गर्ने ! उसको कम्पन फेरि बढ्यो । पुलिसले सुधासित कालेको हुलिया कति पैसा र केके लगे भनेर सोध्यो । बयानमा सही गर्न लगाएर पुलिस आफ्नो काम गर्दैथियो, पसलमालिक आइपुग्यो । साहुले घरबाटै पुलिसलाई खबर गरेको रहेछ । ऊ घरमा सीसी टिभी हेरिरहेको रहेछ । काले आउनासाथ उसको पनि होस उड्यो रे । घरबाट क्यामरामा हेर्दै अब सुधाले पैसा देखाइन भने मार्छ होला भन्ने लाग्यो रे । लौ, सुधा, नयाँ मान्छे परी, सिकाउन पनि भ्याएको थिइनँ भन्ने लागेर क्यामराबाट दिमाग अन्त लैजानै सकेन रे । धेरै बेरपछि जब कालेले पाउरोटी लियो अनि मात्र होस आएर पुलिसलाई खबर गरेको रे उसले । सुधा मालिकको कुरा सुनिरहेकी थिई । तर दिमाग त कहाँ हो कहाँ ! सुधाको होसै उडेको थियो । के सोचेर आएकी थिई अमेरिका , आएपछि काम पाउनलाई नै कत्ति गाह्रो भयो । बल्लबल्ल काम त पाई । तर विश्वको एक नम्बरमा गनिएको देशको राजधानीको हालत र अमेरिकाको काम गराइको ताल देखेर उ पक्क परेकी थिइ । भोलिपल्टदेखि साहुलाई जानकारी नै नदिई सुधा काममा जान छोडि । अमेरिका श्रमको पूजा हुने देश भएकाले होला काम छोडे पनि पाँच दिन काम गरेको पैसा साहुले सुधालाई बोलाएर दिएको थियो ।
फेरि काम चाहियो सुधालाई । उसले सब–वेमा त काम पाउन सक्ने थिई । सब–वेको काम सबै जानिसकेकी थिई । तर सब–वेमा कसरी काम गर्नु ? मान्छे मार्न आउने रहेछन् भनेर डराईरहेकी थिई । फेरि मधूूले नै कताकता फोन गरिन् । उनकै सहायताबाट सुधाले फेरि काम पाई भर्जिनियामै । उस्तै सब–वेकै काम । सबैले सम्झाए, के गर्नु, काम गर्नै भनेर त ऊ अमेरिका आएकी थिई । ऊ काम गर्दै गई, मनको डर पनि हराउँदै गयो । हप्तामा सात दिन नै ऊ अब एकै ठाउँमा काम गर्न थालेकी थिई । सुधालाई कुनै समस्या पनि आइ परेको थिएन । नयाँ सब–वेमा ग्राहकहरू पनि काला कम गोरा बढी देखिन्थे । सुधाको काम गराइले साहु खुसी थियो । दुईतीन महिनामै सुधालाई साहुले विश्वास गरेर होला, पैसाको कारोबार उसैको जिम्मामा दिएको थियो । दिनहुँ बैङ्कमा पैसा राख्न जाने । पसललाई चाहिने चानचुन साटेर ल्याउने । क्यास बक्स भन्दा बाहिर राख्ने पैसा आफूसँग नै राखेर साहु आएपछि उसलाई हिसाब बुझाउनेजस्ता काम गर्न थालेकी थिइ सुधा ।
सब–वे र बैङ्कको पछाडिको ढोका नजिकै थियो भने मूल ढोकाबाट घुमेर जाँदा १० मिनेट जति लाग्दथ्यो । सुधा केही दिन त बैङ्क घुमेरै गई । बिस्तारै सबैले चिन्न थालेपछि ऊ बैङ्कको पछाडिको ढोकाबाटै पैसा लिएर जान थालेकी थिई । एक दिन ऊ स्रोह हजार बैङ्कमा राख्न भनेर लिएर हिँडी । ऊ बैङ्कको पछाडिको ढोकाबाट बैङ्कभित्र के पसेकी थिई कि मूल ढोकामा उसका आँखा पुगे । सधैँ गार्ड बस्ने कुर्सीमा त दुईजना काले पेस्तोल तेर्साएर पो बसेका रहेछन् । ढोकामा भएको एउटा कालेले मोटो रबरले कपाल बाँधेको थियो । उसको कपाल लामो थियो वा थिएन, घुम्रिएकोले सुधाले थाहा पाइन । दुवैले सनग्लास लगाएका थिए । दुवै जीन्स पेन्ट र टी–सर्टमा थिए । उनीहरूले गार्डले बोक्ने गरेको राइफल बोकेका थिएनन् । राइफल कुर्सीमै राखिएको थियो भने गार्ड एकछेउमा थियो । पूरै ढोका कालेले उभिएर छेकेका थिए । उनीहरू यस्तरी उभिएका थिए कि बाहिरबाट भित्रको दृश्य देखिँदैन थियो । भित्र काउन्टरतिर सुधाले आँखा दौडाई । ओहो, सबै काउन्टरका कर्मचारी त एकातिर थुप्रिएका ! काउन्टर बाहेकका कर्मचारीका सबै कुर्सी खाली थिए ।
कहाँ गए होलान सबै कर्मचारीहरू ? सबै खालीखाली । यो बेलामा त बैङ्कमा ग्राहकहरूको पनि भीड हुन्थ्यो । आज ग्राहकहरू पनि आएका रहेनछन् कि के हो ? तीनचारजना कालेहरू पैसा झोलामा खाँद्दै थिए । ओहो ! बैङ्क लुटिँदै रहेछ । सुधा अब फर्किन पनि सकिन । अगाडि बड्न पनि सकिन । एउटा कालेले सुधालाई पनि पेस्तोल तेस्र्याएर रोक्यो । ऊ मूर्तिजस्तो भएर उभिईरही । पछाडिको ढोकाबाट आएकीले शायद कालेहरूले उसलाई पनि बैङ्कको कर्मचारी नै सोचे होलान् । उसको पर्समा सो¥ह हजार थियो तर उसलाई पर्स खोल्न भनेनन् । ऊ मूर्ति बनेर काउन्टरतिरै हेरिरहेकी थिई । बैङ्कका एकजना कर्मचारीसँग कालेले सेफ खोल्न भन्यो । कर्मचारीले नाइँनास्ती केही नभनी सेफ खोलिदियो । अचम्म त त्यहाँ के थियो भने बैङ्कका कर्मचारीभन्दा कालेलाई सब थाहा थियोजस्तो— कहाँ, कुनकुन पैसा छ । सबै पैसा ब्यागमा हालेर काउन्टर भित्रका सबै कालेहरू बाहिर निस्किए । गार्डको छेउमा उभिएको कालेले गार्डको राइफल सँगै लिएर आयो । कालेहरूले अरू कर्मचारी र ग्राहकलाई थुनेर एउटा कोठामा राखिदिएका रहेछन् । उसले त्यो ढोका खोलिदियो । शायद सुधा पुग्दा कालेहरू बैङ्कमा भर्खर मात्रै आएका थिए होलान् । मुस्किलले दश मिनेट पनि लागेन कालेहरूलाई बैङ्क सबै लुटेर लैजान । सुधा मात्र एक मुकदर्शक भएकी थिई— सब अगाडिबाटै हेरिरहेकी थिई । काउन्टरका कर्मचारीको डरले होस उडेको थियो । अगाडिबाट प्रत्यक्ष रूपमा हेर्ने त ऊ मात्र भएकी थिई । थुनिएको कोेठाबाट सबै निस्किए पनि कालेहरू नजाउन्जेल कोही केही बोलेनन् । उनीहरू बाहिर निस्किएपछि कर्मचारीले पुलिसलाई फोन गरे । अब बैङ्कमा कारोबार हुने त कुरै थिएन । त्यसैले पैसा बोकेरै सुधा लागी सब–वेतिर ।
सब–वेमा गएर ऊ बैङ्क लुटिएको कुरा साथीहरूलाई सुनाउँदै थिई । सब–वेमा त चारजना पुलिस आए र सोधे— को गएको थियो यहाँबाट बैङ्क ? सुधाका साथीहरू सबैले उसैको मुखमा हेरे । ऊ अब डरले थुरथुर । कतै उसैले नै बैङ्क लुटेको नभनोस् पुलिसले । सोच्न थाली हे भगवान् किन आइएछ अमेरिका ? मलाई नै किन यस्तोयस्तो पर्ने, उसले डराउँदै भनी, म गएकीे थिएँ बैङ्क । पुलिसले केके देख्यौ, कस्ताकस्ता मान्छे थिए ? कस्तो मान्छेले के ग¥यो ? कालेहरूमा कसलेकसले केके गरेर पैसा लुटे जानकारी लिएर पुलिस गए । अब के गर्ने ? यस्तै रहेछ अमेरिका । बसूँ कि आजै टिकट लिएर आफ्नो देश फर्कांैजस्तो लाग्यो उसलाई । मानसिक तनाव र द्धिविधाहरूका वीचमा समय वितेको पत्तै पाइन उसले । उ घर फर्किदा पाँच वर्ष विती सकेको थियो ।
प्रतिक्रिया दिनुहोस्