१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


चेल्सी र लिरभपुल विजयी, म्यान्चेस्टर सिटीले आज टोटनह्यामसँग खेल्ने


0
Shares

काठमाडौं, असोज १६ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलहरुमा लिभरपुल र चेल्सी विजयी भएका छन् ।

पछिल्लो समय उत्कृष्ट लयमा देखिएको लिभरपुलले स्वान्सी सिटीलाई उसैको मैदानमा २-१ ले हराएको हो ।

खेलमा स्वान्सी सिटीका लिरोए फरले पहिलो गोल गरेपनि लिभरपुलका रोबर्टो फर्मीनो र जेम्स मिल्नरले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा चेल्सीले हल सिटीलाई २-० ले हराएको छ । खेलमा चेल्सीलाई विजयी गराउन विलियन र डिएगो कोष्टाले एक एक गोल गरे ।

प्रिमियर लिग अन्तर्गत राती भएका अन्य तीन खेलहरु भने बराबरीमा सकिएका छन् ।

वाट्फोर्ड र बर्नमाउथले २-२ गोलको बराबरी खेल्दा सण्डरल्याण्ड र वेष्ट ब्रोम तथा वेष्ट ह्याम युनाईटेड र मिडिल्सब्रोले १-१ गोलको बराबरी खेलेका हुन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको लिभरपुल १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग फुटबलमा आज(आइतबार) राती चार खेल हुनेछन् ।

शिर्ष स्थानको म्यान्चेस्टर सिटीले टोटनह्याम हट्सपरसँग खेल्दा म्यान्चेस्टर युनाईटेड र स्टोक सिटी, आर्सनल र बर्न्ले तथा लेष्टर सिटी र साउथह्याम्पटन भिड्नेछन् ।