
काठमाडौं, असोज १५ । काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको उपाधि भिडन्त सोमबार हुँदैछ ।
उपाधिका लागि शीर्ष दुईमा रहेका पन्चकन्या तेज र कलर्स एक्स फ्याक्टर्स भिड्दैछन् ।
६ टोली सहभागी प्रतियोगिताको लिगको अन्तिम खेलमा शनिबार विशाल वारियर्ससँग अंक बाँडेसँगै एक्स फ्याक्टर्स फाइनलमा पुगेको हो ।
खेलमा एक्स फ्याक्टर्सले पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा ३७ रन बनाउँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो ।
एक्स फ्याक्टर्सको ७ तथा विशालको ६ अंक भएसँगै एक्स फ्याक्टर्सले बाजी मारेको हो । पन्चकन्या भने अपराजित रहँदै समूहको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
त्यस्तै, शनिबारको अर्को खेलमा जगदम्बा रानोज्ले सगरमाथा लिजेन्टस्लाई ८ विकेटले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको सगरमाथाले ५ विकेटको क्षतिमा १२७ रन बनायो । मेहबुब आलमले ३० बलमा अविजित रहँदै ४७ रन बनाएको इनिङमा पवन शर्राफले ३ विकेट लिए ।
जवाफमा जगदम्बाले १७ ओभर ५ बलमा २ विकेट गुमाएर विजय हासिल गर्यो । ‘म्यान अफ द म्याच’ शुबेन्दु पाण्डेले ५२ बलमा अविजित रहँदै ७८ रन बनाए ।
जितसँगै ४ अंकबाट जगदम्बा चौथो स्थानमा रह्यो भने ३ अंक बटुलेको कान्तिपुर गोर्खाज् पाँचौं स्थानमा रह्यो । सबै खेलमा पराजय व्यहोरेको सगरमाथा पुछारमा रह्यो ।
सोमबार हुने फाइनल भारतीय पूर्वक्रिकेट कप्तान अजय जडेजाले पनि कीर्तिपुर मैदानमा गएर हेर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्