
कल्पना पौडेल (रासस)
काठमाडौं, असोज १४ । दसैंको रौनक घरसम्म आइपुगेको छ । दसैंका लागि घर जानेक्रम सुरु भएको छ ।
रातो टीका र जमराको पर्वकोरुपमा चिनिने दसैंमा खानपानको पनि उत्तिकै महत्व छ । दसैं भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ ।
दसैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर, दसैंमा मासु र अन्य खानेकुरा खाँदा बिरामीमात्र होइन, स्वस्थ्य मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ ।
खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैंका समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य बृद्धि हुने गरेको उनले बताए ।
‘एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइँदैन’–उनले भने ।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउँछन् ।
उनले भने–‘दसैंमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन । तर, खाँदा सावधानी भने अपनाउनुपर्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।’
क्यान्सरका बिरामीले खसीको मासु एकैपटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरैमात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनको सल्लाह छ ।
मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई भने दसैंमा खानैपर्छ भनी खसीको धेरै मासु एकैपटक नखान सल्लाह दिन्छन् ।
उनले एक छाकमा तीन, चार टुक्रामात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाईभन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुकोमात्र भर नपर्न सल्लाह दिइन् ।
अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भइ मधुमेहमात्र नभइ अरु रोगलाई पनि बढावा दिने डा. भट्टराईको भनाइ छ ।
वरिष्ठ पोषणविद् डा. अरुणा उप्रेती दसैंमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउँछिन् ।
उनले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन आग्रह गरिन् ।
‘मासु पकाउँदा धरै चिल्लो, मसला राखीभन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ’–उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्