१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


केन्यामा फेरि ‘जियोथर्मल’ विद्युत् उत्पादनको तयारी, के हो जियोथर्मल ?


0
Shares

नैरोबी, असोज १३ । केन्यामा विद्युत् उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत् उत्पादन परियोजनाको खाका तयार पारेको छ ।

यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना सुरुआत गरिसक्ने जनाइएको छ ।

पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्युत् शक्तिमा परिणत गरी भन्डारण र विद्युत् आपूर्ति गर्ने प्रणालीलाई जियोथर्मल प्रविधि भनिन्छ ।

तुलनात्मकरुपले जलविद्युत् उत्पादन लागतसरह खर्च लाग्ने यस प्रविधिबाट विद्युत् उत्पादन गर्न जलस्रोत, पेट्रोलियम इन्धन, आणविक वा अरु कुनै प्रकारको रासायनिक उर्जा आवश्यक पर्दैन ।

यसमा, सूर्यबाट भू–सतहमा प्राप्त हुने तापक्रमलाई वैज्ञानिक प्रक्रियाबाट जियोथर्मल तापवाष्प तयार गरी एकत्रित पार्दै विद्युत्उर्जामा परिणत गरी विद्युत् आपूर्ति गरिन्छ ।

जियोथर्मल तापवाष्प उत्पादन, संकलन तथा बिक्री–वितरणकार्य सरकारी स्वामित्वको केन्या इलेक्ट्रिसिटी जेनेरेटिङ कम्पनी (केन्जेन्)ले गर्ने र खरिद गर्ने संस्थाले सो तापवाष्पलाई विद्युत्उर्जामा परिणत गरी विद्युत् आपूर्ति गर्ने परिपाटी हुनेछ ।

केन्जेन्को जियोथर्मल शक्ति विकास विभागका निर्देशक आबेल रोटिकले यस परियोजनामा भौतिक पूर्वाधार निर्माणकार्य र मेसिनरी प्लान्ट, उपकरण जडानका लागि लगभग ३० करोड अमेरिकी डलर लगानी गर्न रकमको बन्दोबस्त भैसकेको नैरोबिमा ‘सिन्ह्वा’ समाचारदातालाई बताए ।

जियोथर्मल शक्ति प्रकृति (सूर्य)बाट नित्य निरन्तर प्राप्त भैरहने नवीकरणीय उर्जास्रोत भएकाले यस अन्तहीन स्रोतको अधिकतम् उपयोगलाई केन्या सरकारले प्राथमिकता दिने पनि निर्देशक आबेलले बताए ।

राजधानी नैरोबिबाट करिब एकसय किलोमिटर टाढा उत्तरपश्चिममा पर्ने ओल्कारिया इलाकामा ओल्कारिया (पाँचौं नामाकरण गरिएको) यस परियोजना सुरु भएको मितिले १८ महिनासम्ममा सम्पन्न गरिसक्ने लक्ष राखिएको छ ।

वर्तमानमा केन्यामा केन्जेन्ले ५४० र निजी क्षेत्रको अर्को एउटा छुट्टै कम्पनीले १४० गरी जम्मा ६८० मेगावाट जियोथर्मल विद्युत् उत्पादन गरिरहेका छन् ।

यस पूर्वी अफ्रिकाली राष्ट्रभरि समग्रमा कुल सातहजार मेगावाट सम्भाव्य जियोथर्मल विद्युत् क्षमता भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा