
काठमाडौं, असोज १३ । नेपाल चिकित्सक संघले चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाकाबारेमा सरकारलाई तीनबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै २४ घन्टाभित्र त्यसको सुनुवाइ गर्न माग गरेको छ ।
ती मागमा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाइ विभागीय कारबाही गर्नुपर्ने र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि गाली, बेइज्जती, गुन्डागर्दी तथा तोडफोड कार्यमा संलग्न हुने व्यक्ति तथा समूहलाई कारबाही गर्न नयाँ ऐन ल्याउनुपर्ने रहेका छन् ।
यसैगरी, सरकारी स्वास्थ्य संस्थामा ओपीडी सेवा बिहान १० देखि ५ बजेसम्म लागू गर्ने प्रावधानलाई वैज्ञानिक तथा व्यावहारिकरुपमा कार्यान्वयन गर्नसमेत संघले विहीबार राजधानीमा एक विज्ञप्ति प्रकाशित गरी माग गरेको छ ।
संघका सहसचिव एवं प्रवक्ता डा. लोचन भट्टराईद्वारा जारी विज्ञप्तिमा ती माग २४ घन्टाभित्र सम्बोधन नगरिए संघ आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ ।
संघले चरिकोट घटनाकाबारेमा स्थलगतरुपमा अध्ययन गर्न एक कार्यदलसमेत गठन गरेको छ ।
सो कार्यदलले दिएका सुझावका आधारमा संघले सरकारको सो ध्यानाकर्षण गराएको हो । रासस
प्रतिक्रिया दिनुहोस्