९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हामी समाजवादी कि अवसरवादी ?


0
Shares

-लाओस राई

अघिल्लो महिना प्रजातन्त्र प्रवर्द्धन केन्द्रले आयोजना गरेको नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवादी अवधारणा पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्ने एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ । कार्यक्रममा सहभागी हुने प्रायः सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नै थिए । वक्ताहरुले लोकतान्त्रिक समाजवादको अवधारणाको पुनर्व्याख्या कसरी गर्न सकिन्छ ? कस्तो कार्ययोजना निर्माण गर्दा जनताको जीवनस्तर राम्रो हुन्छ ? गणतान्तिक नेपालको मजबुद आधार लोकतान्त्रिक समाजवादको कस्तो स्वरूप निर्माण गर्दा देशको विकास हुन्छ ? यी बिषयहरुमा छलफल हुनुको बदला पुरानै सन्दर्भलाई स्मरण गर्ने, स्मरणसभाजस्तै र एक अर्कामा दोषारोपण केन्द्रीय बिषयबस्तु भएजस्तो देखिन्थ्यो । यही प्रशंगमा सहभागी एक सरले पुर्व अर्थमन्त्रीलाई प्रश्न गर्दै ‘निजीकरणको नाममा देश नै विदेशीलाई ठेक्कामा दिए भइहाल्यो नि, के को दुःख गर्ने ? मन्त्रीले कर उठाउँदै बसे भैहाल्यो नि ?’ भन्नेजस्ता आक्रोसपूर्ण सवाल देख्दा कार्यक्रम निकै रोमाञ्चित पनि देखिन्थ्यो ।

कार्यक्रमको बिषयबस्तु र वक्ताको बोली नदीको दुई किनाराजस्तै हो कि जस्तो लाग्दथ्यो । अझै भनौं भने ‘म गर्छु आग्राको कुरा, सम्धी गर्छन् गाग्राको कुरा’ भने झैं भयो कि भन्दा सारै नहोला । एकातिर देशको प्रवुद्ध वर्ग र दुई दशकभन्दा लामो समय राजनीति र देशको केन्द्रमा रहेर प्रजातान्त्रिक समाजवादी आधारभूत संरचना मैले नै निर्माण गरेको हुँ भन्ने ठोकुवा गर्ने नेताहरु पुरानै घटना र त्यसकै चर्चामात्र गरिरहनु उपुक्त हो भन्न सकिदैंन । पूर्व अर्थमन्त्री डा. रामशरण महत, बामपन्थी नेता घनश्याम भुषाल, अर्का समाजवादी नेता कल्याण गुरुङ र आयोजक र समाजवादी विचारक प्राध्यापक डा. यज्ञ अधिकारी सबैको धारणा सम्मृद्ध नेपाल निर्माणको निमित्त भए पनि बिषय र विचारमा कुनै तादात्मता भेटिदैंन थियो । सबैको आ-आफ्नै, भिन्नभिन्न मार्गहरु पनि छर्लंगै देखिन्थ्यो । त्यसकारण पनि समाजवादीहरुको बीचमा केही अन्तरहरु विद्यमान रहनुको साथै ठुलो द्वन्द्व रहेछ भन्ने प्रष्ट हुन्थ्यो ।

यो सबै द्वन्द्वग्रस्त बिचारहरु छताछुल्ल हुनु, समाजवादी अवधारणालाई आफु अनुकुल ब्याख्या गर्नु, लोकतान्त्रिक समाजवादको सैद्धान्तिक एवं आधरभूत मान्यता र ब्यबहारिक सबै पक्षमा अपब्याख्या, अपभ्रंश र अशान्दर्भिक छलफल भइरहेको सन्दर्भमा लोकतान्त्रिक समाजवादको ऐतिहासिक पक्ष र आधारभुत मान्यताको चर्चा गर्न सान्दर्भिक देखिन्छ । लोकतान्त्रिक समाजवादको अवधारणा त्यति धेरै पुरानो भने होइन । २० औं शताब्दीमा बेलायतबाट सुरु भएको बिचारधारा हो । अझै भनौं, साम्यवादी बिचार तथा उदारवादी बिचारको उग्रतालाई कम गर्न विकसित मध्यममार्गी बिचारको रुप हो । त्यसकारण लोकतान्त्रिक पद्धतिका मूल्य मान्यतालाई अनुशरण गर्नु यसको मुख्य सिद्धान्त हो । यस सिद्धान्तले साम्यवादी विचार र ब्यक्तिवादी उदारवादका अति स्वतन्त्रतालाई निषेध गर्दछ । यसको आधारभूत सिद्धान्तहरुमा व्यक्तिलाई भन्दा समाजलाई प्रमुखता दिनु, एक आपसमा सहयोगी संस्कारको विकास गर्नु, समानतामा जोड, उत्पादन तथा वितरणको साधनमा राज्यको नियन्त्रण, अनियन्त्रित बजार व्यवस्था गर्नु, साम्यवादको सधैं बिरोध, वर्ग समन्वयको धरणा, सहकार्य र सहमतिको सिद्धान्त नै लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आधार हो ।

गणतान्त्रिक नेपालको बदलिंदो समाजको आवश्यकता अनुरुप अन्य पक्षहरुलाई समेत समावेश गराउँदै लोकतान्त्रिक समाजवादलाई मजबुद र प्रभावकारी बनाउँदै लैजानु प्रमुख दलहरुका साथ–साथै विचारकहरुको जोडदार पहल, प्रयास हुनुपर्ने आजको प्रमुख कार्य हुनपर्ने थियो । तर त्यसो हुन नसक्दा लोकतान्त्रिक समाजवाद भाषण र अन्तरक्रियामा मात्र सीमित हुन पुगेको देखियो । यसको मतलव त्यस किसिमको कायक्रम हुनु नै हुँदैन भन्ने आशय भने होइन ।
२१ औं शताब्दीमा पनि युरोपका कतिपय देशमा समाजवादी सिद्धान्त सफल ढंगबाट ब्यवहारमा देखिनुले लोकतान्त्रिक समाजवाद उत्तम ब्यवस्था हो भन्नेमा शंका गर्न पर्ने ठाउँ रहँदैन । तर नेपालको सन्दर्भमा ६० वर्षको लामो अवधिमा पनि आंशिक रुपमा समेत कार्यान्वयन हुन नसक्नुमा निश्चय नै राजनीतिक सिद्धान्तभन्दा नेतृत्वमा कमजोरी रहेछ भन्ने प्रष्ट हुन्छ । किनकि त्यही सिद्धान्त कतै प्रिय हुने त कहीं असफल हुनको पछि कुनै न कुनै कारण हुन पर्दछ । त्यो कारण भनेको जडताग्रस्त राजनीतिक संस्कार नै हो भन्न सकिन्छ ।

नेपालमा लोकतान्त्रिक समाजवाद सफल नहुनाको कारणहरु खोज्ने हो भने धेरै कारणहरु हुनसक्लान् । यद्यपी यहाँ सबै कारणहरु उल्लेख गर्न उपुक्त र सम्भावना नभए पनि केहि प्रमुख कारणहरु उल्लेख गर्न उचित ठान्दछु । त्यस मध्य केही प्रमुख कारणहरु उल्लेख गर्ने हो भने प्रथम कारण भन्नु नै सामन्तवादी संस्कारले ग्रसित चिन्तन र त्यसैद्वारा निर्मित योजना । दोस्रो सामन्ती संस्कार र संस्कृतिबाट पालित पोषित व्यक्तिहरुको पार्टी र समग्र राजनीतिमा हाबी हुनु । तेस्रो आर्थिक भूमण्डलीकरण । चौथो बिभिन्न राजनीतिक सिद्धान्तहरुको प्रयोगस्थल र एजेन्टहरुको चलखेल । पाचौं बस्तुको उत्पादनमा भन्दा बिचौलियामुखी प्रणाली अपनाउनु । छैटौं लोकतान्त्रिक समाजवादको स्पष्ट ब्याख्या गर्दै धरणा निर्माण गर्न नसक्नु ।

दुई खम्बे अर्थनीति अपनाउनुको साथसाथै अरु विभिन्न कारणहरु छन् जसको प्रभावले लोकतान्त्रिक समाजवाद टीबी लागेको बिरामी औषधिमा निर्भर भएजस्तो हो । हाम्रो समाजवादी अवधारणा पनि शक्ति राष्ट्रकै निर्भरतामा रहन बाध्यात्मक अवस्था हो कि जस्तो देखिन्छ । त्यसकारण पनि लोकतान्त्रिक समाजवाद सफल हुन नसकी समय समयमा समाजवादी आन्दोलनको नाउँमा विभिन्नखाले हिंसात्मक आन्दोलनहरु हुने गरिरहेका छन् । त्यस किसिमको आन्दोलनले हाम्रो समाज र राष्ट्रलाई क्षति पुर्‍याउने काममात्र हुने हुँदा त्यसतर्फ पनि ध्यान दिन जरुरी छ ।

समाजवादको प्रमुख सैद्धान्तिक आधार भनेकै राज्य नियन्त्रित आर्थिक व्यवस्था र समतामुलक समाजको निर्माण हो । उत्पादन र वितरणमाथि राज्यको नियन्त्रण हुनु हो । तर २०४८ यता सबै क्षेत्रमा गरिएको निजीकरण र वित्तीय पुँजीको भूमण्डलीकरणको विश्व दृष्टिकोणसँगै हामी पनि चल्न सुरु गर्‍यौं । त्यसपछि देश नयाँ चरणमा प्रवेश गरेकै हो । तर नयाँ नीतिको सुरुवातसँगै सरकारी स्वामित्व रहेको कल–कारखाना, उद्योगधन्दा सबै बिक्री गर्दा त्यसले समाजवादी सिद्धान्तलाई खिल्ली उडाएको भन्ने बुझिन्छ । शिक्षा, स्वास्थ्यजस्ता अति नै संवेदनशील र महत्वपूर्ण पक्षलाई निजीकरण र ब्यापारिकरणले गर्दा सिर्जना भएको महँगो शुल्कको कारण सामान्य जनतालाई धेरै कठिन र पहुँचभन्दा परको अवस्था बनाईदिएको छ । सर्वसाधरण जनतालाई राम्रो स्वास्थ्य र शिक्षा आशा गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भने झैं रहेको छ ।

यसकारणले पनि नेपालको सन्दर्भमा समाजवाद बहुसंख्यक गरिब जनताको पक्षमा भन्दा केही पुँजीपति, शास्त्रीय ढर्राका बुद्धीजिवी, अपाङ्ग योजनाकार, गोष्ठी सेमिनारमा सीमित हल्ला गर्ने र सत्तासिन पार्टीका सीमित नेता तथा कार्यकर्ताहरुलाई मात्र चखिलो अचारको स्वादजस्तै हुन पुगेको देखिन्छ । तर जनतालाई समाजवाद के हो भने थाहै नहुनु र काग र बेलको सम्बन्धजस्तै भएको छ । त्यसकारण पनि सबै समाजवादी विचारकहरु, योजनाकारहरु पार्टीहरु काम गरेको तरिका देख्दा समाजवादी होइनन् बरु अवसरवादी हो कि भन्ने शंका गर्ने ठाउं प्रशस्तै छन् । केवल समाजवादी घोषणापत्र निर्माण गर्दैमा, कार्यपत्र निर्माण गर्दैमा, नामको अघि समाजवादी विशेषक थपिंदैमा, चाकडी र कमिसन चक्रमा घेरिएका अग्रजहरु समाजवादी हुन सक्दैनन् । त्यसैले खास समाजवादीहरु सजक हुन जरुरी देखिन्छ । अन्यथा समाजवादको निर्मम हत्या हुन लाग्दै छ । सबैलाई चेतना भया ।

(लेखक नेवि संघका नेता हुन्)