
तेह्रथुम, असार २५ । तेह्रथुमको बसन्तपुरमा नयाँ शहरी विकास आयोजनाले निर्माण गरेको तरकारी फलफूल संकलन केन्द्र प्रयोगविहीन भएको छ ।
निर्माण सम्पन्न भएको एक बर्ष बितिसक्दा पनि तरकारी, फलफूल तथा मत्स्य संकलन र बिक्री केन्द्र प्रयोगमा आउन नसकेको हो । मध्यपहाडी लोकमार्ग आसपास १० वटा नयाँ शहर निर्माण गर्ने सरकारी अभियानअन्तर्गत स्थापना भएको आयोजनाको कार्यालयले अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ ।
सो क्रममा सबैभन्दा पहिलो भौतिक पूर्वाधारको रुपमा निर्माण भएको तरकारी फलफूल संकलन केन्द्र तथा मत्स्य बिक्री केन्द्र प्रयोगमा नआएको हो ।
आयोजनाले फलफूल संकलन केन्द्रका लागि ८ वटा सटर भएका दुईवटा भवन निर्माण गरेको छ । यस्तै मासुजन्य वस्तु बिक्री गर्न चारवटा सटर निर्माण गरिएको छ ।
निर्माण सकेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि नगरपालिकाले फलफूल संकलन केन्द्र सञ्चालनका लागि चासो नदेखाएको नयाँ शहरी विकास आयोजनाका इन्जिनियर द्रोणमानदेव कटुवालले बताए ।
नगरपालिकाले भने फलफूल संकलन केन्द्र सञ्चालनका लागि तयारी गरिरहेको जनाएको छ । नयाँ सटरहरु प्रयोगमा नआउँदा पुराना संरचना र खुला चौरमा हटिया लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्