
काठमाडौं, असोज १२ । काठमाडौं महानगरपालिकाभित्र रही सन्चालन हुँदै आएका ११ ओटा चलचित्र घरले मनोरन्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ ।
हालसम्म काठमाडौं महानगरपालिकाअन्तर्गत् रही सन्चालन भएका चलचित्र घर ११ ओटा छन् । तीमध्ये ६ ओटाको आफ्नै भवन रहेको छ भने पाँचओटा भाडाका रहेका छन् ।
सन्चालित सबै चलचित्र घरले मनोरन्जन कर नतिर्दा यतिधेरै बक्यौता बाँकी रहेको काठमाडौं महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।
‘चलचित्र घरले हालसम्म कर तिरेका छैनन्’–उनले भने ।
अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ ।
कर नतिर्ने चलचित्र घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्नेजस्ता कारबाही गरिनेछ ।
चलचित्र घरमा टिकट बिक्री हुने बित्तिकै प्रतिटिकट मूल्यको दुई प्रतिशतका दरले मनोरन्जन कर तिर्नुपर्ने प्रावधान छ ।
महानगरपालिकाले २०५६ सालदेखि चलचित्र घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरन्जन कर लिन थालेको हो ।
मूल्य अभिबृद्धि कर लागू भएपछि मनोरन्जन कर हटेको भन्दै चलचित्र घरले सो कर तिर्न आनाकानी गरेको काफ्ले बताउँछन् ।
तर, स्थानीय स्वायत्त शासन कर नियमावलीअनुसार मनोरन्जन कर लिने व्यवस्था रहेकाले उक्त शीर्षकको कर कुनैपनि हालतमा तिर्नुपर्ने उनको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्