
नयाँ दिल्ली, असोज १२ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी दिएका छन् ।
भारतीय टेलिभिजन च्यानल ‘आजतक’सँग कुरा गर्दै मुशर्रफले भने, ‘पाकिस्तानलाई भुटान र नेपालजस्तो ठान्ने गल्ती भारतले नगरोस्, पाकिस्तान एक शक्तिशाली देश हो ।’
पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने समाचार प्रकाशमा आएको सन्दर्भमा मुशर्रफले भने, ‘मोदी दोहोरो रवैया अपनाउन माहिर छन्, कहिले उनी पाकिस्तानी प्रधानमन्त्रीको जन्मदिनमा सुटुक्क पाकिस्तान पुग्छन्, कहिले पाकिस्तानलाई विश्वमै बद्नाम गर्न उद्यत हुन्छन् ।’
उनले भारत दक्षिण एसियाको ठूलो देश भए पनि उसको हृदय सानो भएको टिप्पणी पनि गरे ।
उनले कश्मिर मुद्दा समाधान गर्न भारतले नै नचाहेको आरोपसमेत लगाए । ‘भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मनमोहन सिंहसँग कश्मिर मुद्दा समाधानको प्रयास भइरहेको थियो तर भारत कश्मिर मुद्दा समाधान गर्न चाहँदैन,’ उनले भने ।
मुशर्रफले बाजपेयी र मनमोहन सिंहभन्दा मोदी निकै पृथक रहेको उल्लेख गर्दै भने, ‘मोदी आगो ओकल्ने काम गर्छन्, मोदीजस्तै उनकी विदेशमन्त्री पनि छिन् ।’
‘भारत भ्रममा नरहोस्,’ उनले भारतलाई चेतावनी दिदैं अन्तरवार्तामा भनेका छन्, ‘यसपटक पाकिस्तान पूर्ण शक्तिका साथ भारतलाई जवाफ दिन तयार भएको छ, हिम्मत भए पाकिस्तानमा हमला गरेर देखाए हुन्छ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्