
हेम्पस्टेड (अमेरिका), असोज ११ । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन बहस भएको छ ।
सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।
विषयवस्तुदेखि प्रस्तुतिसम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ ।
क्लिनटन १० देखि १५ प्रतिशतसम्म अगाडि रहेको देखिएको हो । बहसकाक्रममा क्लिन्टनलाई धेरैपटक ट्रम्पले बोल्नै नदिएर अवरोध पुर्याएका थिए । त्यो अवरोध नै धेरैले नरुचाएकोमत सर्वेक्षणमा बताइएको छ ।
अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ ।
करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी व्यक्तिले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ ।
अहिलेसम्म भएका यस्ता बहसहरुमध्ये यो नै सबैभन्दा धेरैले हेरेको मानिएको छ ।
आजभन्दा ठीक ५६ वर्षअघि राष्ट्रपतिका तत्कालीन उम्मेदवारद्धय जन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तै बहस भएको थियो ।
सोमबारको बहस एनबीसी न्यूजका लेस्टर होल्टले चलाएका थिए ।
देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातीयमुद्धा लगायतका विषयमा केन्द्रित बहसमा दुबै उम्मेदवारले एक–अर्काको चर्को आलोचना गरेका थिए ।
क्लिनटनले ट्रम्पलाई करबारे ढाकछोप गरेको आरोप लगाएर कमजोर सावित गर्न खोजेकी थिइन् ।
जवाफमा ट्रम्पले कर लाग्ने आफ्नो आम्दानीको विस्तृत् विवरण सार्वजनिक गर्ने बताउँदै त्यसका क्लिन्टनले आफू विदेशमन्त्री हुँदाका ३० हजार इमेल सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए ।
विदेशमन्त्री हुँदा क्लिनटनले इमेलको दुरुपयोग गरेको आरोप लगाउँदै उनले आफूमाथिको आरोपलाई ओझेलपार्ने प्रयास गरेका थिए ।
६८ वर्षीय क्लिन्टन पूर्वविदेशमन्त्री र सांसदकारुपमा अनुभव सम्हालेकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । उनी ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गरेकी हुन् ।
त्यसैगरी, उमेरले क्लिन्टनभन्दा पाका ७० वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारीसाथै टेलिभिजनका पूर्वप्रत्यक्ष कार्यक्रम सन्चालक हुन् । रासस/एएफपी/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्