
वासिंटन, असोज ११ । अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रतीय निर्वाचनका उम्मेदवारद्वय हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प प्रत्यक्ष बहसमा सहभागी भएका छन् ।
डेमोक्रेटिक पार्टीकी क्लिन्टन र रिपब्लिक पार्टीका उम्मेदवार ट्रम्पबीच पहिलो पटक प्रत्यक्ष बहस भएको हो । निर्वाचन अघि तीन चरणमा हुने बहसको पहिलो चरण अन्तर्गत नेपाली समयानुसार मंगलबार बिहान दुई उम्मेदवारबीच विभिन्न एजेण्डामा प्रत्यक्ष बहस भएको हो । यो बहसलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनको एक अहम् हिस्सा मानिन्छ ।
बहसमा ट्रम्पले हिलारी क्लिन्टनसँग रोजगारी अभिबृद्धिको कुनै योजना नरहेको आरोप लगाए । जवाफमा हिलारीले पूँजी निवेश बढाउने र एक करोड जनालाई नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइन् ।
हिलारीले ट्रम्पमाथि कर छलीको आरोप लगाइन् । ट्रम्पले भने हिलारीलाई उनको फोनबाट ‘डिलिट’ गरिएका ३० हजार ईमेलको विवरण सार्वजनिक गर्न चुनौती दिए । हिलारीले ती ईमेलको विवरण सार्वजनिक गरेमा आफू करको विवरण सार्वजनिक गर्न तयार रहेको ट्रम्पको भनाइ थियो । हिलारीले ईमेल ‘डिलिट’ हुनुलाई आफ्नो गल्ती भएको स्वीकार गरिन् ।
अमेरिकामा पछिल्लो समय निकै ठूलो मुद्दा बनेको ‘गन कल्चर’ (हतियार राख्ने अधिकार)का बारेमा पनि ट्रम्प र हिलारीबीच विवाद देखिएको छ । ट्रम्पले हतियार राख्न पाउने व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए भने हिलारीले यस्तो व्यवस्थालाई नियन्त्रण गर्नुपर्ने खाँचो औंल्याइन् ।
ट्रम्पले इराकबाट अमेरिकी सेना कटौती गरिएकै कारण आइएसको जन्म भएको आरोप लगाए । उनले अमेरिकी सेनाको संख्या इराकमा घटाइएकै कारण महत्वपूर्ण तेल भण्डारमा आइएसले कब्जा गरेको बताए । हिलारीले भने ट्रम्पले नै कुनै समय इराक हमलाको समर्थन गरेको र एक समय लिबियाका पूर्व तानाशाह गद्दाफीसँग पनि उनको सम्बन्ध रहेको आरोप लगाइन् ।
यी दुई उम्मेदवारबीच अझै दुई चरणमा बहस हुन बाँकी नै छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्