
सिन्धुली, असार २५ । सिन्धुलीको कमलाखोच रानीबास र टाडी पत्रिंगाका किसानले व्यवस्थित बाँध निर्माण भएसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
विगतमा कमलानदीको बाँध भत्किने समस्याले पीडित यहाँका बासिन्दाको अहिले बाह्रै महिना सिँचाई सुविधा पुग्न थालेपछि जीवनयापनमै आमूल रुपमा परिवर्तन आएको हो ।
जिल्ला सिँचाई विकास डिभिजन सिन्धुलीबाट सञ्चालित सिँचाइ आयोजना तथा सामुदायिक व्यवस्थित कृषि क्षेत्र आयोजनाबाट सिँचाइका कार्यक्रम सञ्चालन भएपछि नदी कटानले बगर बनेका क्षेत्र र सिँचाइ सुविधाको अभावमा घाँसे चौर बनेका जमिन हरियाली बनेका हुन् ।
आयोजनामार्फत यस क्षेत्रमा करिव एक हजार घरधुरीका किसानको सात सय हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । सिँचाईको सुविधाले बाँझो र सुख्खा अवस्थामा रहेका जमिनमा तरकारी, अन्नबाली प्रशस्त उब्जन थालेपछि सिन्धुलीको कमलाखोचको रानीवास, पत्रिंगा, टाडी र तीनपाटनको विजयपुर, भालुखोला क्षेत्र खाद्यान्न तथा तरकारी निकासीको केन्द्रको रुपमा समेत विकसित हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्