८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउन पाकिस्तानमा रिट दायर


0
Shares

इस्लामावाद, असोज ९ । पाकिस्तानमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन माग गर्दै लाहोर उच्च न्यायालयमा रिट दायर गरिएको छ ।

भारत र पाकिस्तानबीच युद्धको अवस्था देखा परेको भन्दै पाकिस्तानका एक कानून व्यवसायीले यस्तो अवस्थामा भारतीय चलचित्र पाकिस्तानी सिनेमाघरमा प्रदर्शन गरिनु शोभनीय नहुने भन्दै प्रदर्शनमा रोक लगाउन माग गरेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार कानून व्यवसायी इश्तयाक चौधरीले पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन अदालतले आदेश दिनुपर्ने माग रिटमा गरेका छन् ।

उनले भारतमा पाकिस्तानी कलाकारलाई एक राजनीतिक संगठनले नै देश निकालाको चेतावनी दिइसकेको अवस्थामा पाकिस्तानमा भने भारतीय चलचित्र प्रदर्शन गरिरहनुको औचित्य नरहेको पनि जिकिर गरेका छन् ।

चौधरीका अनुसार पाकिस्तानमा चलचित्र प्रदर्शन गरेर कमाएको रकम भारतले कश्मिरी नागरिकमाथि दमनमा खर्च गरिरहेको आरोपसमेत लगाएका छन् । उनले भने, ‘पाकिस्तानमा प्रदर्शन भइरहेका भारतीय चलचित्रमार्फत भारतले कर संकलन गरी सो रकमबाट गोलाबारुद खरिद गर्दछ र कश्मिरी जनतामाथि दमन गर्दछ ।’

शनिबार अदालतले उनको निवेदनमाथि सुनुवाई गर्दै पाकिस्तानको केन्द्र सरकार र सेन्सर बोर्डसँग जवाफ मागेको छ । सो मुद्दाको अर्को सुनुवाई मंगलबार हुने जनाइएको छ ।