
सरिता अर्याल –
साठीको दशक पार गरिसकेपछि मीना विदेश आइपुगेकी हुन । अहिले उनको आँखामा त्यै गाउँ, त्यै गाउँको सानो फुसको घर घुमिरहेको छ । आज उनी अमेरिका आएको पनि एक महिना बितिसकेछ । अमेरिका आएको भोलिपल्टदेखि नै घरी गगन चुम्बी महलहरूको मुनि हिँडेर होस् या हावासित दगुर्ने रेल चढेर दिन घुम्दैमा बितिरहेका थिए । एक महिना कत्ति चाँडो बित्यो उनले पत्तो नै पाइनन् ।
उनी घर बाहिर बगैँचामा एउटा काठको बेन्चमा बसेर सोच्दैछन् । सालको पात टपरी गासेर भन्दै जङ्गलै थर्काउनेगरी गीत गाउँदै घाँस दाउरा गर्दै छ दशक पूरा गरुन्जेलसम्म पनि उनले सोचेकी पनि थिइनन् होला कि उनी जस्ती अनपढ आइमाइ एक दिन अमेरिकाजस्तो विकसित देशमा हुनेछिन् । उनी आपूmभन्दा चौध वर्ष जेठा वृद्ध श्रीमान्को साथमा अमेरिका आइपुगेकी हुन् । पति परमेश्वर मान्दै उसैको काखमा मर्न पाए पुग्छ भनेर सधैँ प्रार्थना गर्ने उनले पतिको सेवामा कुनै कसर छोडेकी थिइनन् । आफैं बूढी भैसके पनि श्रीमान्को सेवा गरे स्वर्ग पुगिन्छ भन्ने मान्यतामा बाँचेकी उनले उन्नाइस घन्टा लामो हवाइजहाजको यात्रामा लोग्नेलाई केही असजिलो पो भएको छ कि भन्दै सोध्दै अमेरिका ल्याइ पुर्याएकी थिईन । पुरुष प्रधान समाजको प्रतिनिधित्वगर्ने श्रीमान् अमेरिका आउनासाथ छोरालाई सुनाउँदै थिए— तेरी आमाले प्लेन देखेकी थिइन, त्यसैले यसलाई सम्झाउँदै बुझाउँदै लिएर आउनु पर्यो । उनले छोराको अगाडि मुस्कुराएर बाबुको समर्थन जनाएकी थिईन ।
आज मीना र उनको श्रीमान् राधेश्यामको अमेरिका आएको मतलब पूरा हुने दिन थियो । त्यसै हेतु उनीहरूलाई छोरासँगै कतै जानुथियो । खाना खानेगरी बाहिर जानुपर्छ, तयार भएर बस्नु ल भनेर छोरो बिहानै घरबाट निस्केको थियो । चिया खानासाथ राधेश्यामले सूटबूट कसिसकेका थिए । मीना भने पूजापाठमै थिईन । बूढा बेलाबेलामा हकार्दै थिए— किन ढिला गरेकी ? बिस्तारै ऊ पनि तयार भई । बूढाले चार वर्ष पहिले ल्याइदिएको सारी लगाउँदै ऊ मस्किरहेकी थिई । यो चार बर्षमा दोस्रोपल्ट ऊ त्यो सारी लगाउँदै थिइन । पहिलोपल्ट भान्जीको विवाहमा यो सारी लगाएको सम्झना छ उनलाई । छोरो आयो । तीनै जना बाटो लागे । बूढालाई थाहा हँुदो हो, तर उनलाई कत्ति पनि थाहा थिएन, उनीहरू कता जादैछन् भन्ने । छोरो गाडी चलाउँदै थियो भने बूढा उसको छेउमा बसेका थिए । एउटा दुईतले घर अगाडि गाडी रोकियो ।
बाहिर वाट हेर्दा पुरानोपुरानोजस्तो देखिने त्यो घर त ओहो भित्र पसेपछि त के हो, के हो ! मीनाले आफ्नो जीवनमै देखेकी थिइन त्यस्तो घर । सिलिङमा अनेक थरीका बत्ती झुन्डिएका छन् । तल सूटबूटमा सजिएका गोरागोरी मात्र छन् । दुईजना इन्डियनजस्ता देखिने मानिस र उनीहरू तीनजनाबाहेक त्यहाँ अरू सबै गोरे र गोरी मात्र । कुर्सी पनि कस्ता हुन् कस्ता ! ठाउँठाउँमा पूmलका बुट्टा बनाएर सजाइएका छन् । कस्तो राम्रो फूलैफूलले सजाएको कोठा । ती दुई बूढाबूढीलाई छोराले एक छेउको कुर्सीमा लगेर बसायो । उनीहरू बसेर रमिता हेरिरहेका थिए । केहीवेरमा कस्ताकस्ता लुगा र टोपी लगाएका मानिस कोठामा पसे । बसेका सबैले उठेर ताली बजाएर उनीहरूको स्वागत गरे ।
मीना र राधेश्यामले पनि जानी नजानी अरूको सिको गरे । त्यो कोठाको छेउमा गाउँमा नाचगान हुँदा बनाइने जस्तै सानो स्टेज पनि थियो । नौलो भेषभुषामा आएका सबै गएर त्यहीँ बसे । एकएक गर्दै गोरेगोरीले केके बोले मीनाले केही बुझिन तर जसले बुझे घरीघरी हाँस्थे पनि, अरूबेला सबै मौन हुन्थे । मीनालाई दिक्क लागिरहेको थियो । उसको छोरालाई पनि स्टेजमा बोलाए र केके दिए उनीहरूले । छोराले पनि माइक समाएर बोल्यो तर गाईखाने भाषा मीनाले कत्ति पनि बुझिनन । जसोतसो त्यहाँको काम सकेर उनीहरू घर फर्किए । दुई घण्टाजति घरमा आराम गरे पछि फेरि सबै लागे घर बाहिर । “अब कहाँ जाने बाबु ?” मीनाले छोरालाई सोधीन् । “भोज खान,” छोटो जवाफ दियो छोराले । बिहानको भन्दा अहिलेको ठाउँ मीनालाई राम्रो लाग्यो । किनकि त्यहाँ नेपाली बोल्ने मानिसहरू पनि थिए । छोराका साथीहरू र मास्टरहरूले भोज खुवाएका रहेछन् । मीनाले त्यहाँ पुगेर मात्र थाहा पाईन उनको छोरा बिरामी जाँच्ने डाक्टर होइन, अर्को के डाक्टर भयो रे । उसले अमेरिकामा सबैभन्दा राम्रो रिजल्ट ल्याएको रे ! त्यसेैको खुसीमा भोज खुवाएका रहेछन् । त्यहाँ छोराका साथीहरूले बूढाबूढीलाई भनेका थिए— तपाईंंहरू कत्ति भाग्यमानी बाबुआमा, छोराले आज यहाँ आएर पनि यत्रो पुरुषार्थ ग¥यो । छोराका साथीहरूले बूढाबूढीको छेउमा आएर त्यत्ति के भनेका थिए, राधेश्यामले छाती फुलाउँदै भन्यो— आखिर छोरो कसको ?
श्रीमान्को त्यै एक वाक्यले गर्दा रात धेरै बितिसके पनि मीनालाई निद्रा परेको छैन । अतीतका पानाहरू एकएकगरी उनकोे दिमागमा पल्टिरहेका छन् ।
…………………………………………………….
माइती तराई हो मीनाको । उनको विवाह १२ वर्ष पनि नपुग्दै भएको थियो । छोरी रजस्वला नभई कन्यादान गरिदिए सिधै स्वर्ग पुगिन्छ भन्ने मान्यताले त्यो समयमा तराईका सबैजसो जिल्लालाई गाँजेको थियो । यसैअनुरूप बूढाबूढी भएका मीनाका हजुरबुबा र हजुरआमाको करले पढ्नुपर्ने बालउमेरमा उनको पनि विवाह भएको थियो ।
एक दिन इन्डियाको ट्रेन र दुई दिन बयलगाडाको यात्रा पछि मीना पुगेकी थिईन दुलाहाको घरमा भित्रिन । नयाँ गाउँ, नौला मानिस, बिचरी मीनाको त सातो नै उडेको थियो । दुलहाको घरमा पुगेपछि पनि दुईतीन दिन पहिले जन्मघरमा जसरी विवाहको कार्यक्रम भएको थियो, त्यस्तै कार्यक्रम भएको थियो । थकाइले गर्दा मीनालाई त्यो वैवाहिक कार्यक्रम अत्यासलाग्दो लागिरहेको थियो । उनकी आमाले बेहुलीलाई बिदा गर्नेबेलामा भन्नुभएको थियो— “जे भने पनि केही नबोली टुपुटुपु काम गर्नु है ।” आमाको त्यै आदेशको पालन मीना सकी नसकी गरिरहेकी थिईन । एउटा फ्रकमा उफ्रीउफ्री दिन बिताउने मीनाको शरीरले थेग्न नसक्ने सारी, चोलो र खास्टो बोक्नुपरेको थियो ।
रात प¥यो कि उनी थकाइ र निद्राले सुत्न चाहन्थीन् । उनको माइतको ओछ्यानलाई मात्र उनी सम्झिइरहेकी थिईन । तर मीना त त्यहाँ नयाँ दुलही रे, कहाँ सुत्न पाउनु र । एघार बजेतिर बल्लबल्ल नन्द र देवरहरूसित उनले सुत्ने अनुमति पाईन । त्यो रात उनलाई कस्तो निद्रा लागेको थियो— मीना बेलाबेलामा विवाहको कुरा उठ्यो भने अझ पनि सम्झन्छिन् । जेजति निद्रा लागेको भए तापनि बिहान चार पनि नबजी जेठानीले उठाएकी थिइन् । उनी त सुत्न चाहन्थिन् तर आमाको आदेश । आमाले रुँदै दिएको आदेश सम्झेर बिचरी लामो हाइ गर्दै लागीन जेठानीको पछिपछि । बिहानको नित्यकर्म सकेर मीनालाई भान्सामा उकातिएको थियो बहुभतेरका लागि । मीना पहिलोपल्ट चुल्होको छेउमा पुगेकी थिईन । आपूmभन्दा ठूला देखिने भाँडाहरू चुल्होमा थिए । त्यो बेला मीना उमेर बा¥ह वर्षकी मात्र थियो तर त्यहाँ उनलाई बच्ची भनेर सोच्ने मानिस कोही नभएको उनले महसुस गरिरहेकी थिईन । उनी बेहुलाको घरमा पस्नासाथ बीस वर्षकी जस्ती तरुनीको व्यवहार गर्नु परेको थियो । बहुभतेर उनैले पकाउनुपर्ने । दालभात पकाउन त परै जाओस्, उनले त चलाउने पन्यूँ पनि उचाल्न सकिनन् । उनलाई चुल्होमा चढाउने विधि पु¥याउनका लागि उनले पन्यूँ त चलाउनै पर्ने । धन्य, जेठानीले साथ दिएर उनले भात–दाल चलाएकी थिईन् । सासूहरू छेउमा बसेर मुसुमुसु हाँस्दै हेरिरहेका थिए । जति कठिन भएपनि त्यो विधिले मीनालाई पूरा बाहुनी बनाइदियो । दुईदिन पछि दुलही फर्काउने नियमअनुसार उनी माइत गईन् । माइत जाँदा बाटामा बेलाबेलामा श्रीमान्तिर हेर्दा उनकोे श्रीमान् पनि उनीतिरै हेरिरहेका हुन्थे । राधेश्यामले उनीसित बोल्न खोजेकी हो कि भन्ने लाग्दथ्यो । तर उनी डरले लोकन्तीको सारी नै समाइरहेकी हुन्थीन् । बिचरी बोलुन पनि के ? उनका लागि राधेश्याम पराई मानिस त थियो त्यो बेला । उनलाई के थाहा राधेश्याम उनको लागि के हो ।
माइतमा दुई दिन बसेर बेहुलाबेहुली फेरि घर फर्किए । एक्काइसवटा सखारीमा केके मिठाईहरू राखिएका थिए भने तीनवटा बाकसमा ढोग्ने लुगाहरू । सबै लुगा उनकी आमाले लोकन्तीलाई एकएक गरी कुन कसका लागि भनेर सम्झाईसम्झाई राखेकी उनले देखेकी थिईन् । घरमा आएर उनले ल्याएको सखारीहरू घरभित्र पनि हुल्न दिएनन् सासूससुराले । सबै आँगनमै राखे । ल्याएको कपडा, खामबन्दी पैसा र मसला राख्दै लोकन्तीले सिकाएअनुसार उनले सबैलाई ढोगीन । ढोग्ने कार्यक्रम सकिँदै थियो घरभरि मानिसहरू आए । गाउँ नै उल्टेर आएजस्तो । सासूले सबै सखारीका बिर्का खोलिदिइन् । सबैले घुमीघुमी कोसेली हेरे । कोही फर्किए भने कसैले केही कोसेली त्यहीँ खाए पनि । दुईतीन दिनसम्म कोसेली, खाममा पैसा र मसला लिएर सासूले उनलाई पूरै गाउँ डुलाएर ढोग्ने काम गराइन् । सासूहरूको गोडामा निहुरिएर ढोगेपछि भयो नभनुन्जेल उठ्न नहुने । उफ्, कस्तो चलन निहुरिँदानिहुरिँदा त उनकोे ढाड नै दुखिसकेको थियो । दुईतीन ठाउँमा त आफ्नै सारीमा अल्झिएर लडीन पनि बिचरी ।
त्यो समयमा तराईका अधिकांश पुरुष पढ्नका लागि इन्डिया जाने गर्दथे । राधेश्यामको पनि पढाइ सकिएको थिएन । हप्ता दिन घरमा बसेर ऊ पनि लाग्यो इन्डियातिर । अब बालक मीनाको सासूससुरा, जेठाजुजेठानी, नन्ददेवरहरूको सेवा गर्दै दिनहरू कट्न थाले ।
तीजमा मीनाका दाजु बहिनी लिन आए । तर खोलामा बाढी आएको छ भन्ने निहुँ पारेर उनलाई सासूससुराले माइत जान दिएनन् । दशँैमा छोरो आउँछ अनि ज्वाइँबैनी दुवै सँगै आउँछन् भनेर दाजुलाई फर्काए । मीनाको अब रुँदै बस्नुबाहेक कुनै उपाय नै भएन । जसका बारेमा उनलाई कुनै मतलब थिएन, उसकोे दीर्घायुको कामना गरेर मीनाले पहिलोपल्ट भोकै, प्यासै तीजको व्रत पनि बस्नुप¥यो । भोक र प्यासले तड्पिएको सबै दोष मनमनमा श्रीमान्लाई दिइरहेकी थिईन । भोकैले गर्दा होला मीनालाई श्रीमान् सबैभन्दा दुश्मनजस्तो लाग्दथ्यो । जसको कारणले उनले नचाहिने नचाहिने दुःख पाइरहेकी थिईन । तर पनि उनी राधेश्यामको बाटो हेर्दै श्रीमान् आउने दिन गनेर बस्न थालेकी थिइर्न, कारण थियो— माइत जाने ।
राधेश्याम त आयो तर उसलाई मीनाले देख्न पनि पाएकी थिइनन् । दाजु आउनुभयो बाहिर बैठकामा बुबाहरूसित हुनुहुन्छ भन्दै नन्दले उसलाई खबर गरेकी थिई । तर दुई दिनसम्म भान्सामा खाना खान आउँदाबाहेक मीनाले राधेश्यामको अनुहार पनि देख्न पाएकी थिइनन ।
बल्लबल्ल दशँै आयो, उनी पनि आफ्नो जन्मस्थलो आइपुगीन । धेरै महिनापछि माइत आइपुगेकोमा उनकोे खुसीको सीमा रहेन । आमालाई भेट्नासाथ उनी किन हो किन बेस्कन रोईन् । तिहारसम्मलाई मीनालाई माइतमा छोडेर राधेश्याम घर फर्कियो । विवाह भएको सात आठ महिना बितिसक्दा पनि मीना श्रीमान्सित एक शब्द पनि बोलेकी थिइनन्, त्यसैले माया भन्ने कुरा त कोसौँ दूर थियो । उनी, श्रीमान् फर्किएपछि त झन् खुसी भएकी थिईन । तिहार सकिएपछि मीनाका दाजुले उनलाई फेरि घर पु¥याइदिए । उनी घर पुग्दा राधेश्याम पनि घरमै रहेछन् । ढोगभेट पछि कपडा फेरेर उनी लागीन जेठानीको पछिपछि भान्सातिर । भोलिपल्ट बिहानै उनका दाइ फर्किए ।
दिउँसो जेठानीले मीनालाई उनको कोठामा बोलाइन् । मीना जेठानीको कोठामा पुग्दा राधेश्याम पनि त्यहीँ रहेछ । चिया बनाएर ल्याउने वहानामा जेठानी दुईलाई मात्र कोठामा छोडेर बाहिर निस्किइन् ।
“मीनू, तिमी मेरो घरमा सुखी र खुसी त छयौ ?” मीनासँग श्रीमान्ले सोधेको त्यो प्रश्न श्रीमान् श्रीमतीको पहिलो गफको शुरुवात थियो । राधेश्यामको आवाज सुनेपछि उनकोे जीउ थरर्र काम्यो । त्यै पनि बल्लबल्ल काम्दै उनले भनीन्— मलाई त मेरै घर राम्रो । मलाई त यहाँ बस्नै मन लाग्दैन । तर मैले यहीँ बस्नुपर्छ रे । आमाले भन्नुभएको ।
“किन तिमीलाई यहाँ कसैले माया गरेन र ?”
“त्यो त होइन । तर म भात चलाउन सक्दिनँ । बिहान मलाई पनि धेरैबेरसम्म सुत्न मन लाग्छ । तर म सुत्न पाउँदिन । मलाई पनि नन्द देवरसित खेल्न मन लाग्छ तर म बुहारी रे । यहाँको चलनमा, मैले खेल्नु हुन्न रे, दिदीले भन्नुभएको । त्यसैले मलाई त मेरो बुबाको घर नै राम्रो ।
“मैले तिमीसित खेलेँ भने खेल्छ्यौ ?”
मीनाको कम्पन बिस्तारै हराउँदै गएको थियो । जेठानीबाहेक पहिलोपल्ट उनलाई उनकै बारेमा, उनकोे चाहनाका बारेमा, उनकोे खुसी केमा छ भनेर कसैले उनलाई सोधेको थियो । अब उनी राधेश्यामसित अलि खुलेर कुरा गर्न थालेकी थिईन ।
“हजुर त पढ्न गइसिन्छ, मसित कसरी खेल्ने ?”
“म यहाँ बसुन्जेल आजको जस्तै भाउजूलाई भनेर मिलाउँछु अनि हामी खेलाँैला हुन्न ?”
मीनाभन्दा उनकोे श्रीमान् चौध वर्ष जेठा थिए । तर पनि मीनाकोे खुसीका लागि हो या उनकोे नजिक आउने चाहनाले हो राधेश्याम पनि सधैँ दिउँसो मीनासित गटट खेल्न थालेको थियो । जो मीनाका लागि दुश्मन बराबर थिए, उही अहिले उसकोे मिल्ने साथी भएको उनले महसुस गर्दै गर्न थालेकी थिईन । त्यैबेला मीना रजस्वला पनि भईन् । अब उनी बिस्तारै केटीबाट युवती बन्दै गएकी थिईन । मीनाको साथी भँनू या श्रीमान् फेरि पढ्नका लागि लाग्यो इन्डियातिर ।
…………………………………………………
मीनाको खेल्ने र बोल्ने साथी हराएकाले उनी फेरि ओइलाईन केही दिन । उनका सासूससुरा खेतीको घरमै हुनुहुन्थ्यो । त्यैबेला राधेश्याम जाडोको छुट्टीमा फेरि घर आइपुग्यो । खेल्ने साथी आएकोमा मीनाको त खुसीको सीमा नै थिएन । राधेश्यामसँग आँखा जुध्नासाथ मीना अनायस नै मुस्कुराउन पुग्दथीन् । राधेश्याम आएको दिन ती दुईबीच बोलचाल पनि हुन पाएन । भोलिपल्ट बिहानै राधेश्याम लाग्यो खेतीतिर बुबाआमालाई भेट्न । तीन दिनपछि खेतीबाट बुबालाई लिँदै राधेश्याम फर्कियो । बजारको काम सकेर उनका ससुरा राती नै खेतीतिर लागे । चारपाँच दिनसम्म उनले राधेश्यामसित खेल्ने त के बोल्ने समय पनि पाएकी थिइनन । एकदिन घरको काम सकेर उनी जेठानीको कोठामा गएकी थिईन । जेठानी बाछालाई घाँस हालिदिनुप¥यो भनेर हँसिया लिएर करेसाबारीतिर लागेकी उनले देखेकी थिईन । त्यही मौका पारेर उनी राधेश्यामलाई खोज्दै जेठानीको कोठामा पुगेकी थिईन ।
राधेश्याम त्यहाँ एक्लै किताब पढेर बसिरहेको थियो । ऊ पनि शायद मीनाकै बाटो हेरिरहेको थियो । मीनालाई भाउजूको कोठामा आएको देखेपछि ऊ पनि मस्कियो । मीनालाई कताकता काउकुती लागेजस्तो भयो । राधेश्यामले मीनाको हात समाएर सोध्यो— “मेरो याद आयो ?” मीनाले केही जवाफ दिन सकिनन । मुस्कुराएर मात्र बसीन । राधेश्यामले यताउता हेर्दै उसकोे गालामा च्वाप्प म्वाइँ खाएर हाँस्दै बाहिर निस्कियो । उनी अत्तालिईन । जेठानीले केही दिन पहिले उनीसित भनेकी थिइन्— “बहिनी म दुई जीउकी भएकी छु, तिमी पनि पछि दुई जीउकी हुन्छ्यौ, जब बाबूले तिमीलाई पनि माया गरेर म्वाँइ दिनु हुन्छ” । श्रीमान्को त्यो क्षणको अप्रत्यासित हरकतले उनलाई जेठानीको यो भनाइको संझना आयो । उनी डराईन कतै म पनि गर्भवती त हुन्न ! अब के गर्नेगर्ने भनेर जेठानी भएको ठाउँ करेसाबारीतिर दौडिईन । जेठानीलाई अँगालो मारेर उनी रुन थालीन । मीना एक्कासी आएर रोएको देखेर जेठानी पनि आत्तिइन् । लौन के भयो भनेर मीनालाई सोधिन् । धेरैबेर रोएर मीना बोल्नै सकिनन्, बिस्तारै उनले आइ परेको आपत्ति जेठानीलाई सुनाईन । उनकोे कुरा सुनिसकेपछि जेठानी बेस्कन हाँसिन् । पहिलोपल्ट जेठानी त्यस्तरी खुलेर हाँसेको देखीन मीनाले । जेठानीले हाँस्दै भनिन्—
“धत् लाटी म्वाँइले मात्र कहाँ बच्चा जन्मिन्छ र ! यो त मायाको पहिलो सिँढी हो, यस्ता धेरै सिँढी चढ्नुपर्छ बच्चा पेटमा आउन ।”
जेठानीको साहित्यिक वाक्य मीनाले पटक्कै बुझिनन् तर उनलाई आपूm गर्भवती छैन भन्ने लाग्यो र ढुक्क भईन् ।
अर्को दिन दिउँसो फेरि उनकोे र राधेश्यामको भेट भयो ।
“हिजोको मेरो माया कस्तो लाग्यो ? अब गट्टा होइन, यस्तै मायालु खेल खेल्नुपर्छ ल !”
मीनालाई श्रीमान्को त्यो भनाइ रमाइलो र आप्ठ्यारो दुवै लाग्यो । उनले हुन्छहुन्न केही भन्न सकिनन । भोलिपल्टदेखि ती दुईको खेलमा परिवर्तन आउन थाल्यो । मीनाको गालामा म्वाइँ खाएर राधेश्यामले उनकोे शरीरमा हात फेर्दा उनलाई पनि कताकता रमाइलो र आनन्द आउन थालेको थियो । अब ती दुवैजना मौका निकालेर यस्तो खेल खेल्न थालेका थिए । दिउँसो सधँै उनीहरू खेल्ने मौकाको खोजीमा हुन्थे । एकदिन ती दुवै बारीको परालको टालसम्म पुगे । ती दुवै यो खेल धेरैबेरसम्म खेल्न चाहन्थे र जेठानीको कोठामा कुनैबेला पनि उनी आउन सक्ने डर ती दुवैलाई भइरहन्थ्यो । यिनै सब कारण र लामो समयसम्म खेल खेल्ने चहनाले ती दुईलाई परालको टालसम्म पु¥याएको थियो । परालको धेरै टालको बीचमा बस्दा उनीहरूलाई कसैले देख्दैनन् थिए । ती दुवैले परालको टालमा गएको पहिलो दिन नै मायाको अन्तिम खुड्किलो पनि पार गरे । अब त उनीहरू दिनहँु दिउँसो परालको टालमा खेल्न थालेका थिए । परालको टाल नै उनीहरूको सुहागकक्ष बनेको थियो ।
दुवैका अब रमाइला दिन शुरु भएका थिए । तर खेल खेल्दाखेल्दै राधेश्यामको पढाइमा जाने बेला आइहाल्यो । उनी फेरि एक्लै भईन ।
राधेश्याम इन्डिया लागेपछि उनकोे महिनावारी पनि रोकियो । बान्ता हुन थाल्यो । जेठानीले के भयो भनेर सोधेपछि उनले महिनावारी रोकिएको कुरा जेठानीलाई सुनाईन । सासूससुरा दुवै भोलिपल्टै खेतीबाट आउनुभयो । राती घरमा सबैजना एउटा कोठामा बसेर गफ गर्न थाले तर मीनालाई गफ सुन्न नदिएर सुत्न पठाइयो । भोलिपल्ट बिहानै एकजना साथी लगाएर मीनालाई माइत जाने आदेश दिनुभयो सासूले । ससुराले बुबालाई दिनू भनेर एउटा चिठी दिनुभएको थियो । कुनै योजना बिना नै माइत जान भनेको भए तापनि उनलाई कुनै शङ्का भएन । उनले खुसी हँुदै माइत पुगेर त्यो चिठी बुबालाई दिईन । चिठी पढेर माइतमा पनि हजुरबुबा, आमाबुबा, काकाहरूको गोप्य गफ भयो । घरमा पनि गोप्य, माइतमा पनि गोप्य, के भएछ जस्तो उनलाई पनि लाग्यो तर उनले त्यहाँ पनि चासो भने खासै देखाइनन् । बेलुका मीनाका दाजु जागिरबाट आए । दाजु आएपछि फेरी गफ चल्यो बैठकघरमा । त्यसपछि मीनाकी भाउजूले उनलाई आफ्नो कोठामा बोलाएर भन्नुभयो ‘‘नानी, हजुरको पेटमा भएको बच्चा कसको हो ? कसको पाप लिएर आउनुभयो ? कसको पेट बोकेको ?”
ओहो, भाउजूको कुरा सुनेपछि त मीना छाँगाबाट खसेजस्ती भईन । अब बल्ल गोप्य गफको रहस्य उसलाई पनि खुल्यो । उसले सबै कुरा भाउजूलाई बेलिबिस्तार लगाईन । भाउजूले दाइलाई, दाइले बुवाआमालाई । माइतमा त ज्वाँइकै रहेछ भनेर सन्तोषको सास फेरेको उनले महसुस गरीन । तर कुरा त घरको थियो । भोलिपल्ट मीनाको ठुलोबुबा, बुबा, काका र दाजु उनकोे घरतिर लागे । बुबाहरू नफर्कुन्जेल माइतमा सबै पीरमा बसेका उनले महसुस गरिरहेकी थिईन । माइतीबाट गएकाहरू उनकोे घरमा पुगेपछि कुरा भएछ । तर घरकाले हामीले बुहारी सानी छ भनेर छोरा बुहारीलाई बेग्लै कोठा त दिएका थिएनौँ । छोरो बैठक घरमा बाहिर सुत्दथ्यो भने बुहारी नन्द, देवरसित । अनि कसरी हामीले मान्ने यो कुरा । यो कुराको छिनोफानो त छोरालाई नै सोधेपछि हुन्छ । हामी छोरालाई लिन पठाउँछाँै अनि हजुरहरूलाई पनि खबर गरौँला । छोराको कुरा नसुनुन्जेल हामी बुहारी भने भित्राउन्नौँ । मीनाका बुबाहरू यस्तो खबर लिएर फर्कनुभयो । अब सबैको निँद उडेको थियो । उनलाई माइतमा पनि शङ्काको आँखाले हेरेको देख्दा आफ्नो जन्मघर जहाँ आउन उनी सधैँ लालायित हुन्थीन नबसौँजस्तो लाग्न थालिसकेको थियो । तर उनी कहाँ जाउन र ? अब मीनालाई बारम्बार परालको टालको खेल खेलेको मा पछुतो भैरहेको थियो । तर जे हुनु त भै सकेको थियो, अब उनले पनि श्रीमान्लाई पर्खनुबाहेक अरू कुनै उपाय नै थिएन । बा¥ह दिनपछि घरबाट एकजना मान्छे मीनाको बुबालाई लिन आए । फेरि सबैजना लाग्नुभयो उनकोे घरतिर ।
एक हप्तापछि गएका सबै फर्कनु भयो । त्यहाँ पञ्चेती बस्यो रे ! सबैले राधेश्यामसित सोधे रे ! तर ढुङ्गो बोल्ला राधेशयाम बोलेन रे । श्रीमान् नबोलेपछि पञ्चेतीले मीनाको पेटमा भएको बच्चा अवैधानिक भनेर निर्णय गरेर बुबाहरूलाई छोरी हजुरहरूलाई नै फिर्ता भनेर फर्काइदिएछन् ।
मीना, बालकमै आमा बन्न गइरहेको थिईन । तर उनलाई सबैले हेला गरेर राखेका थिए । उनी आफ्नै बाबुआमाका लागि बोझ भएको महसुस गर्दै गएकी थिईन । उनी उछलकुद गर्ने उमेरमा गर्भवती भएकी थिईन भने त्यसमाथि अवैधानिक गर्भको आरोप ! उनलाई त्यो समयमा दिन काट्न ज्यादै कठिन हुँदै गएको थियो । मीनाले भोगेका अनुभवहरू त उनीसित नै मनमा नै गुिम्सएर रहेका थिए । त्यो समयमा उनले कसरी दिन काटीन, त्यो त उनैलाई मात्र थाहा होला ।
आठ महिना मीना सधैँजसो रुँदै माइतमै बसीन । रोएर मात्र पनि दिन काट्न गाह्रो हुने स्थिति अब झन् उनीमाथि आइरहेको थियो । कारण थियो बच्चा जन्मिएपछि बिना बाबुको बच्चाको न्वारन हुँदैन रे । बच्चाको न्वारन नभै त बच्चा–आमा दुवै चोखिन्नन् रे । हरे, उनी माथि यो अर्को पहाडजस्तो के आपत आइरहेको थियो !
अति भए पछि धेरै किसिमका सोचहरू आउँछन्, उनमा पनि आए होलान् । प्रायजसो उनी आफ्नो कोठामै चुपचाप बसेकी हुन्थीन् । कोही छिमेकीहरू आए भने त उनी पहिले नै ढोका भित्रबाट लगाएर बस्दथीन् । उनी नफरतले भरिएको कत्तिको आँखाको सामाना गरुन ? एक दिन उनले के सोचीन— भान्सामा भात पकाइरहेकी भाउजूको सामुन्ने गएर रुँदै भनीन— “भाउजू, दाजुलाई भनेर मेरो भाखाबाट ज्वाइँलाई एउटा चिठी लेखिदिनु भन्नू न— ‘‘कि त मेरो पेटमा भएको बच्चा मेरो हो भन, होइन भने म यो बच्चालाई जन्म दिनुभन्दा आत्महत्या गर्छु ।”
भाउजूले दाजुलाई केके भन्नु भयो र दाजुले एउटा चिठी दिएर भोलिपल्ट एक जना मानिसलाई मीनाको श्रीमान् भएतिर पठाउनुभयो । अब उनी एउटा झीनो आशा लिएर त्यो मानिसको बाटो हेर्न थालेकी थिईन ।
अरू त त्यो विषयमा घरमा चर्चै गर्दैनथिए तर उनले भने आश गरिरहेकी थिईन । दस दिन पछि त्यो मानिससितै राधेश्याम पनि आए । राधेश्याम र मीनाका दाजुबीच केके कुरा भयो— राती सुत्न मीनालाई र राधेश्यामलाई दाजुभाउजूको कोठा दिइएको थियो । मीना पहिलोपल्ट खाटमाथि श्रीमान्को नजिक थिईन । जब उनी राधेश्यामकोे सामुन्ने पुगीन, मनमा अनेक कुरा खेले तापनि त्यो समयमा उनी केही बोल्न सकिनन्, रोई मात्र रहीन् । राधेश्यामले पनि धेरैबेरसम्म मीनासित बोल्ने आँट गर्नसकेनन् ।
धेरै बेरपछि मीनाका आँसु पुछ्दै राधेश्यामले रुन्चे स्वरमा भने— “मलाई माफ गरिदेऊ ।” केको माफ –परालको टालमा खेलेको या पञ्चेतीमा केही नबोलेको ? मीनाले बुझ्न पनि सकिनन् र सोध्ने आँट पनि उनमा आएन । दुईदिन त्यहाँ बसेपछि मीनालाई लिएर राधेश्याम लागे आफ्नो घर तिर । पहिलोपल्ट माइतबाट घर जाँदा मीना हँसिलो अनुहार लिएर जान लागेकी थिईन् । घरमा पुगेपछि राधेश्यामले आफ्नो परिवारका सदस्यहरूसित केके कुरा गरे, त्यो त मीनालाई थाहा भएन । उनी घरमा पस्दा बस्न दिने हुन् कि नदिने हुन् भन्ने चिन्ता गर्दै पसेकी थिईन् । तर सबैले उसलाई खुसीखुसी स्वागत गरे । भोलिपल्ट भान्सामा उनी घिरौँलाको तरकारी काटिरहेकी थिईन जेठानीले चुल्होमा भात पकाइरहेको बेला माया देखाउँदै भनिन्— “देवरको सानो गल्तीले तिमीले धेरै दुःख पायौ । मलाई त तिमीले भनेकी थियौ तर म पञ्चेतीमा गएर बोल्न नमिल्ने, तिम्रा जेठाजु त्यो समयमा घरमा हुनुहुन्नथियो । अनि मैले पनि चुप लागेर बस्नुप¥यो । मैले पनि तिम्रा लागि केही गर्न सकिनँ मलाई पनि माफ गर ल ।” पञ्चेतीमा सबैको अगाडि परालको टालको कुरा गर्न राधेश्यामलाई लाज भयो रे । घरको कुरा बिस्तारै साम्य भैहाल्छ भन्ने लागेर केही नबोली हिँडेका रे । चिठी पढेपछि पो लौ सब बिग्रिन लागेछ भनेर पढाइ छोडेर राधेश्याम ससुराली पुगेका रहेछन् ।
परीक्षा आइसकेको हुनाले राधेश्याम दुई दिन मात्र घरमा बसेर फेरि लाग्यो इन्डियातिर । अब मीनाका लागि त्यो घरमा पनि केही काम थिएन आराम नै आराम । जतिबेला उनलाई आराम चाहिएको थियो, मीठो खाने कुरा खान चाहिएको बेला थियो, त्यो बेलामा त उनले कुलच्छिनी भएर बस्नुपरेको थियो । अहिलेको स्याहार सुसारले झन् उनलाई पीडा पो भइरहेको थियो । तर उनी आफ्नो रिस कसलाई पोखुन । केही दिन पछि मीनाको छोरा जन्मियो, सबैले उसकोे अनुहार हेर्दै त्यो बेला पनि भनेका थिए— ओहो ठ्याक्कै बाबुजस्तो । आज त्यै छोरो यहाँ आएर डाक्टर भयो रे । अनि उसका साथीहरूले बधाई दिँदा राधेश्याम भन्दै थियो— आखिर छोरो कसको ?
“आज मेरो छोरो भनेर नाक ठड्याउने बाबुले पञ्चेतीमा पेटको बच्चा मेरो हो भनेर मात्र बोलिदिएको भए मैले आठ महिना नारकीय जीवन त बिताउनुपर्ने थिएन नि”– मीना मसिनो आवाजमा गुनगुनाईन । तर त्यै आवाजले राधेश्यामलाई निद्राबाट ब्यूँझाइदियो दियो । उसले सोध्यो— “के भयो तँलाई, किन नसुतेकी ? धेरै खुसी भएकीले निद्रा परेन कि के हो ? सुत् रात धेरै छिप्पिइसक्यो ”। राधेश्याम यति भन्दै कोल्टे फेरेर घुर्न थाल्यो, घुर्–घुर् ।
प्रतिक्रिया दिनुहोस्