१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अष्ट्रेलियामा क्रिकेट खेलेका सन्दीपले पाए वाहिवाही, क्लार्कले के भने ?


0
Shares

काठमाडौं, असोज ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा पहिलो व्यवसायिक खेल खेलेका छन् ।

अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको प्रिमियर ग्रेड क्रिकेट क्लब अन्तर्गत वेस्टर्न सुबर्स्बाट खेलेका सन्दीपले मोस्मन क्लबविरुद्ध ८ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका छन् ।

अष्ट्रेलियाको एलन बोर्डर ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको मोस्मनले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १४१ रनमात्र बनाउन सक्यो ।

जवाफमा कप्तान माइकल क्लार्कको अविजित ९९ रनको मद्दतले सुबर्स्ले खेल ६ विकेटले जित्यो । सन्दीपले ब्याटिङ भने गर्नै परेन ।

गत असोज २ गते अष्ट्रेलिया गएका सन्दीपले सन् २०१६/१७ को सिजनमा क्लार्कको टिमबाट खेल्न पाँच महिने सम्झौता गरेका छन् ।

सन्दीपको पहिलो खेलबारे प्रतिक्रिया दिँदै अष्ट्रेलिया क्रिकेटले निकै राम्रो प्रदर्शन भनेको छ ।

गत मे महिनामा हङकङमा भएको खेल हेरेरै सन्दीपलाई क्लार्कले आफ्नो टिममा लिएका थिए ।

गत हप्तामात्रै १६ वर्ष टेकेका सन्दीपले पहिलो खेलपछि प्रतिक्रिया दिँदै आफ्नो इच्छा अझै ठूलो इनिङ खेल्ने रहेको बताएका छन् ।

क्लार्कले सन्दीप आएको एक हप्तामात्र भएकाले राम्रो सुरुआत गरेपनि अझै राम्रो खेल्ने विश्वास रहेको बताएका छन् । –एजेन्सीको सहयोगमा ।