
वासिंटन, असोज ७ । टेक्नोलोजी जायन्ट याहूले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी भएको खुलासा गरेको छ ।
अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएको हो ।
सम्भवतः अहिलेसम्मकै ठूलो साईबर अपराध मानिएको यो घटनामा राज्यद्वारा प्रायोजित व्यक्ति वा संस्थाको हात रहेको याहूले बताएको छ ।
यो अपराधमा कुन राज्यले प्रायोजन वा सहयोग गरेको हो भन्नेबारे केही नखुलाईए पनि कुनै एक व्यक्तिले मात्रै यति ठूलो साईबर चोरी गर्न सम्भव नहुने याहूको भनाई छ ।
याहूले घटनाबारे अमेरिका सम्बद्ध निकायहरुले छानविन गरिरहेको जनाएको छ । साथै याहूले आफ्ना सम्पूर्ण ईमेल प्रयोगकर्तालाई पासवर्ड तथा सेक्युरिटी प्रश्न परिवर्तन गर्नसमेत आग्रह गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्