१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एन्फा निर्वाचनका लागि प्रतिनिधिहरुको अन्तिम नामावली आज प्रकाशन हुने


0
Shares

काठमाडौं, असोज ७ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनको लागि प्रतिनिधिहरुको अन्तिम नामावली शुक्रबार प्रकाशन गरिँदैछ ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा निलम्बनमा परेपछि रिक्त रहेको अध्यक्ष पदका लागि आगामी कात्तिक ८ गते निर्वाचन हुँदैछ । यसैगरी झन्डै डेढ वर्ष अगाडी एन्फाका तत्कालिन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।

यी दुई पदका लागि हुन लागेको निर्वाचनमा मत दिन पाउने प्रतिनिधिहरुको नामावली शुक्रबार सार्वजनिक गर्न लागिएको हो । एन्फाले यसअघि सार्वजनिक गरेको प्रारम्भिक नामावलीप्रति असहमती राख्दै तीन जिल्ला र ए डिभिजनका दुई क्लबहरुले दाबी विरोध दर्ता गराएका थिए ।

पर्सा, झापा र सिन्धुपाल्चोक जिल्लासहित ए डिभिजन क्लबहरु मच्छिन्द्र र फ्रेण्ड्समा प्रतिनिधि विवाद छ । क्लब र जिल्ला फुटबल संघले आधिकारीक निर्णय गरेर पठाएका प्रतिनिधिहरुलाई हटाएर केही व्यक्ति र समुहले आफुखुशी पठाएका नामहरुलाई एन्फाले मान्यता दिएको आरोप असन्तुष्ट पक्षले लगाएका छन् ।

यसै विषयमा शुक्रबार छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने तयारी एन्फाले गरेको हो । एन्फा निर्वाचनका लागि हालसम्म तीन जनाले अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन् । यी तीन जनामा हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष टासी घले रहेका छन् ।

यसैगरी नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माले पनि अध्यक्षमा चासो देखाएका छन् । तर उनको उम्मेदवारीबारे भने टुंगो लागिसकेको छैन । यसैगरी उपाध्यक्षका लागि मणी कुँवर, उपेन्द्रमान सिंह, सञ्जिव मिश्रलगायतको नाम चर्चामा छ ।

एन्फा निर्वाचनमा ४५ जिल्ला, १२ ए डिभिजन क्लव, ५ बी डिभिजन क्लव, ३ सि डिभिजन क्लव तथा खेलाडी प्रशिक्षक र रेफ्रीबाट तीनसहित कुल ६९ जनाले मत दिने अधिकार पाउँछन् ।