७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गृहमन्त्री र आईजीपीबीच विवाद बढ्यो


0
Shares

काठमाडौं, असोज ७ । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।

मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र आठ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा झुटो भएको भन्दै गृहमन्त्री निधिले मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएपछि नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको छ ।

गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्‍याएपछि गृहमन्त्री अहिले अफ्ठेरोमा परेका छन् ।

मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति गरेपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । त्यही सहमतिका आधारमा मोर्चाले झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता गर्नुपर्ने व्यक्तिहरूको नाम गृहमन्त्रीलाई बुझाएको थियो ।

स्रोतका अनुसार महानिरीक्षक अर्यालले गृहमन्त्री निधिसँग गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिए प्रहरी संगठन र प्रहरीको कार्यशैलीमा असर पर्ने बताएका थिए । अर्यालको सुझावबाट असन्तुष्ट गृहमन्त्रीले राजनीतिक विषयवस्तु भएकाले राजनीतिक ढंगले सुल्झाउन उनीहरुको मुद्दा फिर्ता गरिने बताए ।

जवाफमा महानिरीक्षक अर्यालले भने, ‘हत्या गरिएका ती प्रहरीका पत्नीहरु आए भने के जवाफ दिनुहुन्छ ? म ती सेता लुगा लगाएका एकल महिलालाई तपाईकोमा ल्याइदिन्छु ।’

महानिरीक्षकको भनाईबाट क्रुद्ध बनेका गृहमन्त्री निधिले ‘आन्दोलनकारी पनि मारिएका छन्, ती सबैको जिम्मा लिनु हुन्छ ?’ भन्दै महानिरीक्षक अर्याललाई प्रतिप्रश्न गरेको स्रोतले बताएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट