
सिबी अधिकारी (रासस)
काठमाडौं, असोज ६ । ‘ग्याङ फाइट’ भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् ।
ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स बार’को घटना यसको पछिल्लो उदाहरण हो । महिलाहरु मदिरा सेवन गरी ग्याङ फाइटमा उत्रँदा प्रहरीको फन्दामा परेका छन् ।
बुधबार राति ११ बजे मदिरा सेवन गरी बियरका बोतलले एकापसमा प्रहार गरेर स्थानीयबासीलाई त्रस्त बनाइरहेको अवस्थामा ललितपुर प्रहरीले सात महिलालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले श्रीया तामाङ, सन्जु गरुङ, अनु गुरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीको छुट्टा–छुट्टै समूह बनाइ ‘ग्याङ फाइट’ गरेको अवस्थामा गरी सार्वजनिक अपराध मुद्दा चलाइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर यादवले राससलाई जानकारी दिए ।
उनकाअनुसार बालकुमारी–ग्वार्को क्षेत्रमा पेसेवर महिला समूह अनैतिक गतिविधिमा संलग्न हुने–गरेको र आपसमा झगडा गरी सर्वसाधारणलाई त्रस्त बनाउँदै आएका छन् ।
यसअघि पनि प्रहरीले ग्वार्को क्षेत्रबाट यौनजन्य गतिविधिमा संलग्न ११ जनालाई पक्राउ गरेको थियो ।
यादवको सक्रियता बढ्दो
पछिल्लो समय यौनजन्य क्रियाकलापमा संलग्न पेसेवरले ललितपुरका विभिन्न स्थानमा अखडा जमाइरहेका कारण ललितपुर प्रहरीले आफ्नो सतर्कता बढाएको छ ।
२० दिनअघि वृत्तको जिम्मेवारी सम्हालेका यादवले समाजमा अनैतिक क्रियाकलाप नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्न आफूलाई खरोरुपमा उतारेका छन् ।
घटनास्थलमै गएर वृत्त प्रमुख यादवले विभिन्न विकृतिजन्य गतिविधिमा संलग्नलाई कानुनी कठघरामा ल्याउने काम गरेका छन् ।
एकान्तकुनास्थित यातायात कार्यालय र ताल्सिखेलस्थित मोटरसाइकलको राजस्व संकलन केन्द्रबाट २० भन्दा बढी दलाललाई नियन्त्रणमा लिइ मुद्दा चलाइएको छ ।
त्यस्तै, चोरीमा संलग्न २०, सात जुवाडे, लागुऔषधमा संलग्न एक साधुसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको उनले बताए ।
यात्रीको सुरक्षा तथा यातायातलाई व्यवस्थित र मर्यादित तुल्याउन बालकुमारीदेखि एकान्तकुनासम्म प्रत्येक सार्वजनिक बसमा एक प्रहरी खटाउने गरिएको प्रहरीले जनाएको छ ।
पाकेटमार र दुर्व्यवहारबाट यात्रीलाई बचाउन तथा सडक र सवारीचालकको नियम पालन गराउन १५ दिनदेखि यस्तो अभियान सुरु गरिएको छ ।
त्यसैगरी, लागुऔषधमा संलग्न विभिन्न विद्यालयका १०० जनालाई नियन्त्रणमा लिएर अभिमुखीकरण गराइ अभिभावको जिम्मा लगाइएको छ ।
यसैबीच, नजिकिएको दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गरी सुरक्षा जनचेतना सुरु गरिएको र त्यसका लागि माइकिङ र पर्चा वितरण गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्