
न्यूयोर्क, असोज ५ । अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका नेपाली प्रतिनिधिमन्डलका नेता एवं परराष्ट्रमन्त्री डा. प्रकाशरण महतसँग मंगलबार भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले सो इच्छा व्यक्त गरेका हुन् ।
‘म अघिल्लोपटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैं सहयोग गर्न तयार छ’–विदेशीमन्त्री केरीले भने ।
अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेको परराष्ट्रमन्त्री डा. महतले राससलाई जानकारी दिए ।
नेपालको संविधान निर्माणपछिको अवस्थाबारे चासो राख्दै केरीले नेपालका राजनीतिक दल मिलेर लोकतन्त्रलाई संस्थागत गरुन् भन्ने सदीक्षासमेत राखेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्