
चितवन, असोज ५ । तनहुँका सोमबहादुर मगरले प्रथम राष्ट्रिय क्यायाक (के–१) म्याराथन प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भएका छन् ।
नेपाल र्याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको सहयोग तथा नवलपरासी र्याफ्टिङ्ग एन्ड क्यानोईङ्ग जिल्ला संघको आयोजनामा नारायणी नदीमा भएको प्रथम क्यायाक म्याराथनमा मगरले १६ किमीको दुरी १ घन्टा ३ मिनेट २६ सेकेन्डमा पुरा गरेका थिए ।
दोश्रो भएका तनहुँकै खेमबहादुर थापाले दुरी पुरा गर्न १ घन्टा ३ मिनेट ३३ सेकेन्डको समय लगाएका थिए ।
तेश्रो स्थानमा १ घन्टा ४ मिनेट ९ सेकेन्डका साथ चितवनका राजेन्द्र गुरुङ रहे भने चौथो स्थानमा १ घन्टा ४ मिनेट ४८ सेकेन्डका साथ तनहुँका भरत गुरुङ र पाँचौ स्थानमा १ घन्टा ५ मिनेट ४ सेकेन्डका साथ चितवनका सविन गुरुङ रहे ।
विजयी खेलाडीहरुले क्रमशः १५, १२, ८, ५ र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी चितवनका प्रमुख जिल्ला अधिकारी दीपक प्रकाश सिंह, प्रहरी नायव महानिरीक्षक रणबहादुर चन्दले पुरस्कार वितरण गरेका थिए ।
विभिन्न जिल्लाका २७ खेलाडीहरुले सहभागिता जनाएको म्याराथन प्रतियोगिता चितवनको जुगेडीबाट सुरु भई नवलपरासीको गैंडाकोटमा गएर सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्