
काठमाडौं, असोज ५ । आज सेप्टेम्बर २१ ‘मलाई सम्झ’ अर्थात् ‘रिमेम्बर मी’ भन्ने सन्देशका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै छ ।
अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई वल्र्ड अल्जाइमर्स मन्थका रुपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै छ ।
नेपालको सन्दर्भमा भने यो रोगको बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरुमा पनि चेतना अत्यन्त न्यून रहेको चिकित्सकहरुले जनाएका छन् ।
स्मरण शक्तिसँग सम्बन्धित यो समस्या केवल मानसिक रोगका रुपमा मात्र बुझिँदै आएको पाइन्छ ।
सामान्य रुपमा भन्ने हो भने अल्जाइमर्स बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अरु क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो ।
अल्जाइमर्सलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रुपमा निको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरण शक्तिसम्बन्धि समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको तथ्यांक छ ।
अमेरिकी तथ्यांकअनुसार मानिसको मृत्युको कारकका रूपमा रहेका प्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौं स्थानमा पर्छ ।
६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ । विभिन्न अध्ययनका अनुसार आणुवांशिकताका साथसाथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढाएका हुन्छन् ।
सुरुआती अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चीजबीजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सनेलगायतका लक्षण देखिन्छन् ।
त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महशूस हुने, पहिले सहज रुपमा गर्दै आएका कामका तरिका भुल्दै जाने, योजना बनाउने र निर्णय लिने क्षमतामा कमजोरी देखिँदै जाने र दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जाने हुन्छ ।
रोग बढ्दै जाँदा बिरामीले आफन्त र निकटका मानिसलाई समेत विस्तारै चिन्न नसक्ने, आफ्नो वरिपरिका गतिविधिमा मतलब नहुने, विभिन्न मानसिक समस्या देखि नै हुन्छ ।
प्रतिक्रिया दिनुहोस्