१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एन्फा चुनावका लागि प्रतिनिधि विवाद कायमै


0
Shares

काठमाडौं, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्षका लागि हुने निर्वाचनका लागि प्रतिनिधि विवाद कायमै छ ।

चार जिल्ला र दुई क्लबको प्रतिनिधिबारे दाबी–विरोध परेको निर्वाचन समितिका संयोजक सुजित केसीले हामीलाई जानकारी दिए ।

चार जिल्लामा झापा, सिन्धुपाल्चोक, पर्सा र सर्लाही तथा क्लबमा मच्छिन्द्र र फ्रेन्डस् रहेका छन् ।

निर्वाचन समिति संयोजक केसीले बुधबार दिउँसोसम्म प्रमाण हेरेर छिनोफानो गरी बेलुकीसम्म नामावली प्रकाशित गर्ने बताए ।

कात्तिक ८ गते हुने निर्वाचनमा अध्यक्षका लागि तीनजनाले तथा उपाध्यक्षका लागि चारजनाले उम्मेदवारी फारम लिएर गएका छन् ।

अध्यक्षका लागि कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्वउपाध्यक्ष टासी घलेले तथा उपाध्यक्षका लागि मणि कुँवर, सन्जीव मिश्र, उपेन्द्रमान सिंह र मधुसुदन उपाध्यायले फारम लिएका हुन् ।

अहिलेसम्म कसैलेपनि उम्मेदवारी भने दर्ता गराएका छैनन् ।

उम्मेदवारी दर्ता गर्ने अन्तिम समय यही असोज ९ गते दिउँसो ३ बजेसम्म रहेको निर्वाचन समितिले जनाएको छ ।