
बेल्जियम, असोज ४ । समुद्री तट नजिक रहेको ब्रेदेनेमा यस वर्षको सोलिडारिटी फेस्टिभल ‘मानिफेष्टा’ भव्यरुपमा सम्पन्न भएको छ । आयोजकले जनाएअनुसार, मेलामा दर्शकहरुको उत्साहनजक सहभागिता रहेको थियो ।
विश्वभरिका सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहेको उक्त मेलामा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्द्धन कार्य गरेको छ । मेलामा अभियानले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा स्वागत छ भन्ने सन्देश लेखिएका ब्यानरहरु प्रदर्शनसहित पर्यटन प्रवरेद्धनका सामाग्रीहरु वितरण गरेको थियो ।
त्यसैगरी बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसारका साथै नेपालको संस्कृतिक र प्राकृतिक धरोहरहरुको बारेमा बनेका वृत्तचित्रहरुको हरेक दुई घन्टाको फरकमा प्रदर्शन गरिएको थियो ।
यसै वर्ष बेल्जियम सरकारबाट नाफारहित संस्थाको रुपमा आधिकारिक स्वीकृति पाएको लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले मेलामा पहिलोपटक प्रतिनिधित्व गरेको हो ।
इन्फो स्टल राख्ने प्रयोजनका लागि अभियानले ५६२ युरो ६५ सेन्ट अर्थात् नेपाली ६७ हजार ४ सय ४० रुपैयाँ भाडा आयोजकलाई बुझाएको थियो ।
नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनको यो विशाल मेलालाई एउटा अवसरको रुपमा लिएर केहि सहयोग पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यले गरिएको एउटा सानो प्रयासका रुपमा अभियानले चित्रण गरेको छ ।
पर्यटन प्रवर्द्धनका सामाग्रीहरु उपलब्ध गराउन अभियानले २१ जुन २०१६ का दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन मन्त्री आनन्दप्रसाद पोखरेलसमक्ष आधिकारिक अनुरोध गरेको थियो । त्यसपछि मन्त्रालयको निर्देशनमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका सामाग्रीहरु नेपाली दुतावास, बेल्जियममा पठाईदिएको अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यले जनाए ।
संस्थाको लागि कोष बृद्धि गर्ने उद्देश्यले इन्फो स्टलमा एकातर्फ समोसा र मम बिक्री वितरण गरिएको थियो । अभियानले यस कार्यक्रमका लागि संस्थाको सचिव गीर्ट कत्रिस्सेलाई संयोजनको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्