११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सात महिनाकी छोरी इनारमा फालेर आमा बेपत्ता


0
Shares

चितवन, असोज ३ । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।

आमाले नै सात महिनाकी छोरी प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाकी प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् रामशरणले प्रहरीमा बच्चासहित पत्नी हराएको जाहेरी दिएका थिए । बिहान बच्चा लिएर निस्किएको र त्यसपछि सम्पर्कमा नआएपछि खोजतलास गरी पाउँ भनी उनले प्रहरीमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा खोजी गर्दा कुमरोजस्थित इनारमा बच्चा मृत फेला परे पनि आमा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको खोजी जारी छ । उनको मानसिक अवस्था पनि केही कमजोर रहेको बुझिन आएको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)