१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


न्यू डायमण्ड र पुलिस उपाधि नजिक


0
Shares

काठमाडौं, असोज २ । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नैकापको न्यू डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै पुरुषतर्फ हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रायः फाईनलमा भेट हुने टिम न्यू डायमण्ड एकेडेमीले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब टाइसिटको समीकरणका कारण सेमीफाइनलमा भेट भए ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भइरहेको सेमीफाइनल खेलमा न्यू डायमण्ड एकेडेमीले एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

त्यस्तै लामो समयका प्रतिक्षापछि नेपाल पुलिस क्लवले पनि टप्स पश्चिमाञ्चललाई ३–० सोझो सेटमा पाखा लगाउदै फाईनलको यात्रा तय गर्‍यो ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५–२२, २५–२२ र २५–२३ को सेटमा पराजित गर्‍यो । न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले स्पाइकबाट ३०, ब्लकमा २ र सर्भिसबाट २ अंक बटुलिन् । त्यसैगरी पनामिका राईले स्पाइकबाट ५ महत्वपूर्ण अंक बटुलिन् ।

एपीएफकी सरस्वती चौधरीले स्पाइकबाट १४ अंक लिइन् भने उषा विष्टले स्पाइकबाट ८, ब्लकबाट २ र सर्भिसबाट १ अंक बटुले पनि आफ्नो टोलीलाई विजयी बनाउन सकिनन् ।

त्यसैगरी पुलिस क्लवले टप्स पश्चिमाञ्चललाई २७–२५, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गर्‍यो । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट १७ अंक बटुलिन् भने चुडा खड्काले स्पाइकबाट १०, ब्लकमा २ र सर्भिसबाट २ अंक बटुलिन् ।

टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङले स्पाइकबाट १७ र अरुणा शाहीले स्पाइकबाट १० र सर्भिसबाट एक अंक बटुले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यसैगरी पुरुषतर्फको सेमीफाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान सुरक्षित गर्‍यो । चार भारतीय खेलाडी रहेको हेल्प नेपालले एपीएफलाई २५–२०, २५–१३ र २५–२१ को सोझो सेटबाट हरायो । हेल्प नेपालका लागि भारती खेलाडीद्वय शुभम् चौधरीले स्पाइकबाट १४ र ब्लकबाट ३ अंक बटुले भने सुवे सिंहले स्पाइकबाट १०, ब्लकमा ८ र सर्भिसमा ३ अंक बटुले ।

एपीएफका मिलन मल्लले स्पाइकबाट ७ अंक जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

त्यसैगरी आइतबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई पराजित गरेर फाइनलमा हेल्प नेपालसँगको भेट पक्का गरेको छ । प्रतिस्पर्धात्मक पहिलो सेट २९–२७ ले जितेको सेनाले दोस्रो सेट १५–२५ ले गुमाउन पुग्यो । तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको सेनाले चौथो सेट २५–१७ ले जित्दै उपाधि नजिक पुगेको हो ।

आर्मीको जितमा भैरब बमले स्पाईक मार्फत १३ अंक जोड्दा नरेन्द्र गिरीले स्पाईकबाट ८ र ब्लकबाट ४ अंक जोडेका थिए । पराजित टिमबाट उत्कृष्ट प्रदर्शन गरेका घनश्याम महतोले स्पाईकबाट १२ अंक र ब्लकबाट ३ अंक जोडेका थिए ।

सोमबार तेस्रो स्थानको खेल महिलातर्फ बिहान ८ बजे र पुरुषतर्फ १० बजे हुनेछ भने फाइनल खेल महिलाको १ बजे र पुरुषको ३ बजे हुनेछ ।

नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर अनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।