१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अमेरिकी सेनाको हवाइ आक्रमणमा ६२ जना सिरियन सैनिक मारिए


0
Shares

काठमाडौं, असोज २ । अमेरिकी नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा पश्चिमी सिरियामा ६२ जना सिरियन सैनिक मारिएको रुसी सेनाले जनाएको छ ।

अमेरिकाले आफूहरुको आक्रमणमा सिरियन सैनिक परेको जानकारी भएपनि देइर अल जोउरको आक्रमण स्थगन गरिएको जनाएको छ ।

अमेरिकी प्रशासनका प्रवक्ताले असावधानीवस हुन गएको उक्त घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

सिरिया संकटकै बारेमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ । सिरियामा जारी संघर्ष विराम अन्त्य हुने अवस्था पुगेको र यसको दोषी अमेरिका हुने आरोप रुसले लगाएको छ ।

अमेरिकाले भने आफूहरुको आक्रमणको लक्ष्य आईएस भएको तर निशाना गलत स्थानमा परेको थाहा हुनेवित्तिकै कार्वाही रोकिएको प्रष्ट्याएको छ ।

यता, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले भने युद्धविरामको आडमा सिरियन विद्रोहीहरु एकजुट हुँदै शक्तिसञ्चयमा लागेको र उनीहरुलाई अमेरिकाले सघाइरहेको आरोप लगाएका छन् ।

उदारवादी र अतिवादीलाई अलग्याउनु युद्धविरामको लक्ष्य भएपनि अमेरिकाले ठीक उल्टो काम गरिरहेको आरोप लगाए । (एजेन्सी)