
काठमाडौं, असोज २ । पूर्वराष्ट्रपति रामवरण यादव उपचारका लागि आज (आइतबार) अमेरिका जाने भएका छन् ।
पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर (क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार यादव अमेरिका प्रस्थान गर्ने जनाएको छ ।
अघिल्लो महिना भारतमा स्वास्थ्य परीक्षण गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।
विज्ञप्तिअनुसार अमेरिकाको हेनरी फोर्ड अस्पतालमा यादवको आगामी असोज १० मा ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ ।
सचिवालयले सबै नेपालीको कामनाले यादव चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने उल्लेख गरेको छ ।
पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवं प्रशासनिक सहयोग गरेकामा नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन् ।
मन्त्रिपरिषदले यादवको अमेरिकामा लाग्ने उपचार खर्च बेहोर्ने निर्णय गरिसकेको छ । सरकारले यादव र उनका तीन सहयोगीको आउजाउ र होटलमा बस्ने खर्चसमेत बेहोर्ने भएको हो ।
-कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्