१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा


0
Shares

काठमाडौं, असोज १ । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

महिलातर्फको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार भएको क्वार्टरफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–२२, २४–२६, २०–२५, २५–१९ र १५–५ को प्रतिस्पर्धात्मक सेटमा हरायो ।

त्यस्तै, टप्स पश्चिमाञ्चलले काभ्रे जिल्ला भलिबल संघलाई २५–७, २५–११ र २५–९ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको हो ।

यसअघि भएका क्वार्टरफाइनलमा विजयी हुँदै न्यू डायमन्ड र सशस्त्र प्रहरीले सेमिफाइनल भेट पक्का गरिसकेका छन् ।

त्यस्तै, पुरुषतर्फको सेमिफाइनलमा पश्चिमाञ्चल र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

शनिबारै भएको क्वार्टरफाइनलमा पश्चिमाञ्चलले ढोरपाटनलाई २१–२५, २५–७, २५–२१ र २५–१७ ले हरायो ।

त्यस्तै, आर्मीले मणिमुकुन्दलाई २५–१२, २५–१० र २५–१५ को सोझो सेटमा हरायो ।

यसअघि भएको खेलमा विजयी हुँदै हेल्प नेपाल र सशस्त्र प्रहरीले सेमिफाइनल भिडन्त पक्का गरिसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी प्रतियोगिताका महिला तथा पुरुषका सबै सेमिफाइनल खेल आइतबार हुनेछन् ।