३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


स्क्रब टाइफसको प्रकोप बढ्यो


0
Shares

चितवन, असोज १ । गत वैशाखदेखि देखिएको स्क्रब टाइफस रोगबाट हालसम्म चितवनमा २०५ जना प्रभावित भएका छन् । तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीकाअनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा ९ र भरतपुर अस्पतालमा ८जनामा यो रोग देखिएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत् चितवन र तनहुँका एक–एकजनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालले निःशुल्करुपमा यो रोगको ल्याब परीक्षण गरिरहेको छ । कार्यालयले २०० कीट उपलब्ध गराएपछि अस्पतालले निःशुल्क परीक्षण गराएको हो ।

हरेक महिना यो रोगका बिरामीको संख्या बढ्दै गएपछि कार्यालयले समुदायस्तरसम्म पुग्ने गरी स्थानीय सन्चारमाध्यम, पम्प्लेट र छलफललगायत माध्यमबाट सचेतना कार्यक्रम सन्चालन गर्दै आएको छ ।

जिल्लामा रोगको प्रकोप बढेपछि केन्द्रीय टोलीले मुसाको भिसेरा परीक्षण गर्न नमुना संकलन गरेको छ ।

केसीकाअनुसार टोलीले १०० ओटा मुसाको जाल हालेपनि १० ओटा मुसा समात्न सफल भएको थियो । १० ओटा मुसा परीक्षण गर्दा सातओटामा ‘माइट’ फेलापरेको थियो ।

टोलीले स्क्रब टाइफस रोग संक्रमण भएका बिरामीको घरमै पुगेर मुसा समातेको हो ।

केसीकाअनुसार स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल अस्पताल काठमाडौं, कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि टोलीमा संलग्न थिए ।

टोलीले पश्चिम चितवनको शारदानगर, पार्वतीपुर, शंकरचोक र विकासचोकमा रहेका विभिन्न घरमा मुसाको नमुना संकलन गरेको थियो ।

संकलित मुसा माइट सक्रमित छ कि छैन भन्ने परीक्षणपछिमात्रै पत्ता लाग्ने केसीले जानकारी दिए ।

त्यसैगरी, मुसाको कलेजो, फोक्सो, मुटु, मिर्गौला र रगतकोसमेत नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं लगिएको छ ।

उक्त नमुना काठमाडौंमा थाइल्यान्डबाट आएका विशेषज्ञसहितको टोलीले परीक्षण गरिरहेको छ ।

यसैगरी, टोलीले स्क्रब टाइफस संक्रमण भएका, स्क्रब टाइफसका कारण मृत्यु भएका व्यक्तिको परिवार तथा छिमेकीकोसमेत गरी ८६ जनाको रगतको नमुनासमेत संकलन गरेर थप परीक्षणका लागि काठमाडौैं लगेको छ । रासस