
काठमाडौं, असोज १ । दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको छ ।
सन् २०१३ को डिसेम्बरदेखि गत जुलाईसम्ममा दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको संयुक्त राष्ट्र संघले जनाएको हो ।
राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरका प्रवक्ता लिओ डोब्सले गत जुलाईमा राजधानी जुवामा ठूलो झडप भएपछि देश छाडेर भाग्नेको संख्या ह्वात्तै बढेको बताए ।
जुलाई यतामात्र कम्तीमा एक लाख ८५ हजार मानिसले देश छाडेर भागेका विज्ञप्तीमा उल्लेख छ ।
देश छाडेर भागेका १० लाख भएपनि आन्तरिक रुपमा विस्थापित हुनेको संख्या धेरै छ । अहिलेसम्म आन्तरिक रुपमा विस्थापित हुनेको संख्या १६ लाख पुगेको बिबिसीले जनाएको छ ।
राष्ट्रपति साल्भा किइर र पूर्व उपराष्ट्रपति रिएक मचारबिचको मतभेदका कारण उत्पन्न परिस्थितीले गृहयुद्धको रुप लिएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्