१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


आइएसले उनलाई बनायो ‘यौनदासी’, राष्ट्रसंघले बनायो ‘सद्भावना दूत’


0
Shares

न्यूयोर्क, भदौ ३१ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले कुनै बेला ‘यौनदासी’ बनाएको एक इराकी युवतीलाई संयुक्त राष्ट्रसंघले सद्भावना दूत नियुक्त गरेको छ ।

शुक्रबार राष्ट्रसंघले इराकी युवती नादिया मुरादलाई मानव बेचबिखनविरुद्धको अभियानमा सद्भावना दूत नियुक्त गरेको हो ।

राष्ट्रसंघले भनेको छ, ‘नादियाले हामीसँग मिलेर मानव बेचबिचनविरुद्ध काम गर्नेछिन्, यसबारेमा मानिसलाई सचेत तुल्याउनेछिन् ।’

नादियालाई सन् २०१४ मा आइएसले उनकै गाउँबाट अपहरण गरेर लगेको थियो । नादियाका अनुसार उनको परिवारलाई उनकै सामू गोली हानि हत्या गरेपछि आइएसले उनलाई अपहरण गरेको हो ।

आइएसले त्यसरी अपहरण गरेर लैजाने गरेका कयौं युवती तथा महिलालाई यौनदासीका रुपमा प्रयोग गर्दै आएको छ ।

उनलाई मोसुलको एउटा अड्डामा आइएसले राखेको थियो । त्यहाँ तीन महिनासम्म आइएसका लडाकुहरुले आफूलाई पालैपालो पटक–पटक बलात्कार गरेको नादियाले बताइन् ।
संयोगले त्यहाँबाट भाग्न सफल भएकी नादियाको जर्मनीमा उपचार गरिएको थियो ।

सन् २०१५ मा उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमै आफ्नो पीडा सुनाएकी थिइन् । उनले आइएसलाई तत्काल समाप्त पार्न आवश्यक कदम चालियोस् भनि राष्ट्रसंघसमक्ष माग समेत गरेकी थिइन् । (एजेन्सी)