
रोल्पा, भदौ ३१ । चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौं सत्याग्रहको घोषणा गरेका डा. गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका थिए । शिविर सम्पन्नपछि उनी शुक्रबार बिहानै बसबाट काठमाडौं फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।
अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए । ‘बिहानैदेखि बिरामी लाइनमा लागेका थिए,’ स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने, ‘ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।’
शिविरको पहिलो दिनमै डा. केसीले करिब सयजना बिरामीको उपचार गरेका थिए भने दोस्रो दिन २ सय ३० भन्दा बढी बिरामीको उपचार भयो ।
डा. केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा. केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्