
किरण भट्टराई (रासस)
काठमाडौं, भदौ ३० । शान्ति–सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग क्षतिग्रस्त भएपछि अहिले टेकुमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको जग्गामा ती कार्यालयले अस्थायी संरचना बनाएर काम गर्दै आएका छन् ।
भूकम्पकाबेला परिसरको ब्यारेक भत्कँदा एकजना प्रहरी जवानकोसमेत ज्यान गएको थियो ।
हनुमानढोकाको पुरानो कार्यालय थोरै क्षेत्रफल र सवारी–साधन चलाउन नमिल्ने स्थानमा रहेकाले अर्को स्थानमा जग्गा खोज्नुपर्ने काठमाडौं प्रहरीको बाध्यता रहेको छ ।
भूकम्पपछि तात्कालीनरुपमा केही समयका लागि भन्दै टेकुमा बसेको परिसर र महाशाखाले एक वर्ष चार महिना बित्दासमेत भवन बनाउने प्रक्रिया सुरु गर्नु त कता हो कता, अहिलेसम्म घर बनाउनका लागि जग्गाकोसमेत टुंगो लगाउन सकेको छैन ।
प्रहरीले अहिलेसम्म बसेको भाडासमेत नतिरेको ‘नेट्रेलि’का महाप्रबन्धक सत्यनारायण महतोले बताए ।
उनले भने–‘हामीले प्रतिमहिना रु १५ लाखका दरले १४ महिनाको भाडा तिर्न भनेर प्रहरीलाई पत्र लेखेका थियौं । महिनौं बितिसक्यो अझै रकम पाएका छैनौं ।’
नेट्रेलिको पक्की भवनमा परिसरको कार्यालय राखिएपनि महाशाखाको कार्यालय भने सोही जग्गामा बिहेभोजका लागि बनाइएको पार्टी प्यालेसको बरन्डामा राखिएको छ ।
बिहेभोजमा ठूलो आवाजमा गीत, संगीत बज्ने हुँदा त्यहाँ काम गर्ने वातावरण नै नहुने गरेको प्रहरी बताउँछन् ।
महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले खुला स्थान भएकाले कतिपय अवस्थामा पीडितहरुले आफ्नो पीडासमेत भन्न धक मान्ने तथा कैदीको बयान लिनसमेत समस्या पर्ने गरेको बताए ।
मुलुकको राजधानीको सुरक्षा आफैंमा चुनौतीपूर्ण कार्य हो । कुनै घटना भइहाले त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चा पाउने गर्छ ।
जाडोमा कठ्यांग्रिएर, गर्मीमा निसास्सिएर र वर्षामा रुझेर रात काट्नुपर्ने प्रहरीको दुर्दशाले सुरक्षा व्यवस्थामा नकारात्मक प्रभाव पारेको सहजै अनुमान लगाउन सकिन्छ ।
सुरक्षा दिने प्रहरी आफैं असुरक्षित र शरणार्थीकोजस्तो जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ ।
सबैभन्दा आकर्षक मन्त्रालय मानिने गृह मन्त्रालयमा आउन मन्त्रीदेखि सचिवसम्मको प्रतिस्पर्धा हुने गरेपनि गृहअन्तर्गतकै काठमाडौं प्रहरीको स्थानान्तरण भने त्यहाँ जिम्मेवारी सम्हाल्न आउनेको प्राथमिकतामा पर्न सकेको छैन ।
प्रहरीले नेट्रेलिको सिंहदरबारअगाडि रामशाहपथमा रहेको २६ रोपनी जग्गा किन्न वा भाडामा लिनसके राम्रो हुने सुझाव गृह मन्त्रालयलाई दिइसकेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए ।
गृह प्रवक्ता यादव कोइरालाले काठमाडौं जिल्ला सुरक्षा समितिले सो जग्गा किन्नका लागि निर्णय गरेर ल्याएमा मन्त्रालय किन्ने प्रक्रिया अगाडि बढाउन तयार रहेको प्रतिक्रिया दिए ।
सो क्षेत्रको सरकारीदर प्रतिआना रु ४० लाख रहेकाले सो जग्गा किन्न करिब रु एक अर्ब ७२ करोड लाग्नेछ ।
राजधानीको सुरक्षाको कुरा पैसासँग दाँज्न नहुने भएकाले अल्पकालीनरुपमा भाडामा लिनुभन्दा दीर्घकालकै लागि सो जग्गा किन्नुपर्ने प्रहरीको भनाइ छ ।
काठमाडौंका प्रजिअ रामकृण सुवेदीले सो जग्गा भाडामा लिन आफूले प्रयास गरेको भएपनि नेट्रेलिले जग्गा भाडामा दिनेभन्दा बेच्ने प्रस्ताव राखेकाले सहमति हुन नसकेको बताए ।
कर्मचारीलाई लामो समयदेखि मासिक तलबसमेत खुवाउन कठिनाइ झेल्दै आएका कारण नेट्रेलि सो जग्गा बेचेर आफ्नो आर्थिक अवस्था बलियो बनाउने सोचमा छ ।
आफूलाई जग्गा किन्नेभन्दा भाडामा लिनेमात्रै अधिकार रहेकाले जग्गा किन्ने भए प्रहरी प्रधान कार्यालयले संस्थागतरुपमै गृह मन्त्रालयमा प्रस्ताव पठाउनु उपयुक्त हुने प्रजिअ सुवेदीको भनाइ छ ।
रामशाहपथको सो जग्गामा नेपाल टेलिकमलेसमेत आँखा लगाएको छ । टेलिकमले रु ६० देखि ७० लाखसम्म प्रतिआनामा जग्गा किन्न तयार रहेको प्रस्ताव ल्याएको महाप्रबन्धक मेहताले जानकारी दिए ।
उनले भने–‘प्रहरीले जग्गा हामीलाई दिनु, पैसा अर्थ मन्त्रालयले दिन्छ भन्छ भने हामी बेच्न तयार छौं, उहाँहरुले किन्ने भए मन्त्रिपरिषदबाट निर्णय गराएर आउनुपर्यो ।’
भूकम्पका कारण कालीमाटी, भन्डारखर्क, स्युचाटार, बाफललगायतका स्थानका प्रहरी कार्यालयहरु पूर्णक्षति भएका संरचनामा प्रहरीले राखेको छ ।
रामशाहपथमा रहेको ट्राफिक प्रहरीको ब्यारेक भवन, महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरको ब्यारेक भवन र नेपाल प्रहरी स्कुल सामाखुशी पूर्णरुपमा क्षतिग्रस्त संरचनाको सूचीमा समावेश छन् ।
त्रिपालको बासले बिमारी हुने प्रहरी बढे
परिसरमा कार्यरत् तल्लो तहका अधिकांश प्रहरीले सुत्नका लागि कार्यालयको खाली जग्गामा राखिएको त्रिपालमै भरपर्नु परिरहेको छ ।
गर्मी, वर्षा र शीतलहर झेल्नपर्दा अधिकांश प्रहरी कार्यालयमा रहेका त्रिपाल च्यातिएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
वर्षामा पानी चुहेर, चिसोमा सिरेटोले र रातपरेपछि सर्प, कीराले सताउने गरेको प्रहरी बताउँछन् ।
अव्यवस्थित बसाइका कारण रुघा, खोकी, दमजस्ता समस्या राजधानीमा कार्यरत् प्रहरीमा बढ्दै गएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।
त्रिपालमै बस्नुपर्ने बाध्यताले कतिपय प्रहरीले छुट्टै कोठा भाडामा लिएरसमेत बस्न थालेका छन् ।
परिसरका २५० प्रहरीका लागि एउटामात्रै शौचालय हुँदा बिहानको समयमा शौचालय जानेले दुईघन्टासम्म पालो कुर्नुपर्ने बाध्यता छ ।
एक प्रहरी भन्छन्–‘बरु दुईघन्टा ढिलो खाँदा केही हुँदैन तर शौचालय जान दुईघन्टा कुर्नुजस्तो सजाय अरु केही नहुँदो रहेछ ।’
प्रतिक्रिया दिनुहोस्