
काठमाडौं, भदौ २९ । न्यू डाइमन्ड एकेडमी र सशस्त्र प्रहरी राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
महिलातर्फको समूह ‘ए’बाट न्यू डाइमन्ड र समूह ‘बी’बाट सशस्त्र क्वार्टरफाइनलमा पुगेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बुधबार प्रगतिशील युथ क्लबलाई ३ –० को सोझो सेटमा पराजित गर्दै न्यू डाइमन्डले अन्तिम आठमा ठाउँ पक्का गरेको हो । न्यू डाइमन्ड २५–२, २५–११ र २५–१५ ले विजयी भयो ।
समूह ‘ए’बाट क्र्वाटरफाइनल पुग्ने अर्को टोलीको भने टुंगो लागेको छैन । बिहीबार हुने त्रिभुवन आर्मी र प्रगतिशीलबीचको विजेता अन्तिम आठमा पुग्नेछ ।
महिलातर्फकै बुधबार भएको पहिलो खेलमा पश्चिमाञ्चल भलिबल संघले जावलाखेल युथ क्लबलाई ३–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ ।
यो खेलसँगै समूह ‘डी’बाट पश्चिमाञ्चल समूह विजेता तथा जावलाखेल उपविजेता बन्दै अन्तिम आठमा पुगेका हुन् ।
त्यस्तै, समूह ‘बी’बाट सशस्त्र र काभ्रे भलिबल संघ तथा समूह ‘सी’बाट नेपाल पुलिस क्लब र ढोरपाटन भलिबल क्लब क्वार्टरफाइनलमा पुगेका छन् ।
विभागीय टिम विजयी
पुरुषतर्फको खेलमा बुधबार तीन विभागीय टिमले सफलता हासिल गरे ।
नेपाल पुलिस क्लबले काभ्रे भलिबल संघलाई, सशस्त्रले ढोरपाटन भलिबल क्लबलाई तथा त्रिभुवन आर्मीले जाउलाखेललाई समान ३–० को सोझो सेटमा हराएका हुन् ।
लिगकम नकआउटका आधारमा सन्चालित प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्