
रमेश गिरी (रासस)
भक्तपुर, भदौ २९ । सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि बुधबार दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल दिनभर तनावग्रस्त बनेको छ ।
अस्पताल र चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल खारेजी र चिकित्सकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै पीडित पक्षले अस्पताल घेराउ गरेकाले त्यहाँ दिनभर तनाव भएको हो ।
मंगलबार अपराह्न पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई– ६ घर भइ हाल लोकन्थली बस्दै आएकी २१ वर्षकी मीना विश्वकर्माको राति पौने १२ बजे मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।
मृतकका श्रीमान् केशव बराइलीले अस्पताल र चिकित्सकको लापरबाहीले श्रीमतीको ज्यान गएको आरोप लगाए ।
उनले भने–‘सामान्य पेट देखेर उपचारका लागि ल्याएका थियौं, अस्पतालमा नदुख्ने औषधि तेब्बर डोजसमेत दिइयो, बिरामीलाई गाह्रो हुँदै गएपछि अन्य अस्पतालमा लैजान खोज्दासमेत यही ठीक हुन्छ भनेर राखियो, तर ढिला आएका चिकित्सकले समयमै उपचार नगर्दा मेरो श्रीमतीको ज्यान गयो ।’
मृतककी आमाजु बिना बराइलीले चिकित्सक आउँछ भनेर कुराएर राख्दा भाइबुहारीको ज्यान गएको आरोप लगाउँदै भनिन्–‘दिउँसो १ बजे लगेको बिरामीलाई आकस्मिककक्षमै चिकित्सक आउँछन् पख्नोस् भनेर बिरामीको उपचारै नगरी तीनओटा इन्जेक्सनमात्रै दिएर राखे, समयमै उपचार नगर्दा बिरामीको मृत्युभयो ।’
बिरामीको मृत्यु भएलगत्तै रु २० हजार तिरेर शव लैजान अस्पतालले दबाब दिएको बताउँदै उनले भनिन्–‘हामीलाई क्षतिपूर्ति चाहिँदैन, लापरबाही गर्ने चिकित्सकद्वय निर्जला बजी तथा जमुना किरण पौडेललाई कारबाही र अस्पताल खारेज गर्नुपर्ने हाम्रो माग छ ।’
भक्तपुर अस्पतालमा स्थायी दरबन्दीमा काम गर्दै आएकी प्रसूति रोग विशेषज्ञ डा. पौडेल ५.३० बजे पुगेर उपचार सुरु गरेर आइसीयुमा राखेपछि बिरामीको राति पौने १२ बजे मृत्यु भएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ ।
अस्पतालका सुपरिटेन्डन प्रो.डा. राकेश बर्माले अस्पतालमा आएको बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका चिकित्सकको कमजोरी नरहेको दाबी गरे ।
अस्पतालका निर्देशक सुरेश श्रेष्ठले उपचारकैक्रममा बिरामीको मृत्यु भएको स्वीकार्दै भने–‘यो अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीको उपचार हुन्छ, यस्तो अस्पतालमा उपचारमा कहिले–काहीँ बिरामीको ज्यान जान्छ, यो सामान्य हो, यसलाई गम्भीररुपमा लिनुहुँदैन ।’
आकस्मिककक्षमा उपचारमा संलग्न डा. बजीले प्रक्रियाअनुसार नै उपचार गरेको दाबी गर्दै एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएको र रक्तस्राव भएकाले ज्यान गएको दाबी गरिन् ।
उनले भनिन्–‘बिरामीका आफन्तले अन्य अस्पतालमा लान्छु भनेपनि यहीँ उपचार हुन्छ भनेर राखेका हौं, साँझ ५ बजे आउँछु भनेको डा. पौडेल ढिला आउनुभयो, उहाँ आएलगत्तै थप उपचार सुरु गरेका हौं, तर बचाउन सकिएन ।’
डा. पौडेलले भने भक्तपुर अस्पतालको काम सकेर आउँदा ढिला भएको बताउँदै बिरामीले एक महिनाअगाडि खाएको विषको असर र चिकित्सकको सल्लाहविपरीत बिहान बाहिरबाट किनेर खाएको औषधिले असर गरेकाले बिरामीको ज्यान बचाउन नसकिएको दाबी गरिन् ।
मृतकका आफन्तले भने अस्पताल व्यवस्थापनका विभिन्न व्यक्तिले फोनबाटै ‘क्षतिपूर्ति रकम लिएर शव लैजाऊ, अस्पतालमा बबाल नगर’ भन्दै धम्की दिएको गुनासो गरेका छन् ।
मृतकको शव नबुझी कारबाहीको माग गर्दै दिनभर अस्पताल हाताभित्र आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेकाले प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर निकै स्थिति तनाव भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्