७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डनसँग भएका लाइसेन्स प्राप्त हतियार धमाधम खोसिदैं


0
Shares

काठमाडौं, भदौ २९ । लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ । प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको हो ।

ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो ।

हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक हो । ललितपुर प्रहरीकै सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुई गुन्डा नाइकेको हतियारको लाइसेन्स रद्दको प्रक्रिया सुरु गरेको छ ।

विश्वक्रान्ति सिंह र प्रकाश मालीको हतियारको लाइसेन्स रद्द गर्न सिफारिस गरिएको एसएसपी पीताम्बर अधिकारीले बताए ।

२३ चैतमा पक्राउ परेका सिंह हाल जेलमा छन् । उनको साथबाट अत्याधुनिक दुई हतियार र एक सय ५६ वटा गोली बरामद भएको थियो । पिएस ६४४६४ नम्बरको सर्टगन र यान लेखिएको ३७५ बोरको राइफल उनको निवासबाट प्रहरीले बरामद गरेको थियो । माली पनि ललितपुरमा लामो समयदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन् । केही महिनाअघि ग्याङफाइटमा पक्राउ पर्दा उनीसँग लाइसेन्सप्राप्त हतियार भएको खुलेको हो । सिंह र मालीले लाइसेन्सप्राप्त हतियारकै आधारमा धम्क्याउने गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरूले सरकारबाट लाइसेन्सप्राप्त हतियारकै आधारमा अपराध गर्दै आएको पाइएपछि रद्द गर्ने प्रक्रिया सुरु गरेका हौं,’ एसएसपी अधिकारी भन्छन्, ‘लाइसेन्सप्राप्त हतियारले समेत समाजमा आतंक फैलाउने गरेको देखियो ।’

हातहतियार तथा खरखजना ऐनमा सुरक्षा थ्रेट भएको व्यक्तिहरूलाई मात्र हतियार राख्ने लाइसेन्स दिने व्यवस्था छ । यसका लागि असल चालचलन भएको प्रहरी रिपोर्ट आवश्यक पर्छ । तर, प्रहरी र जिल्ला प्रशासनबाटै सोर्सफोर्स र दबाबका आधारमा गुन्डागर्दीमा सक्रिय व्यक्तिहरूले हतियारको लाइसेन्स पाउने गरेको स्रोत बताउँछ । –नयाँ पत्रिका दैनिकबाट