२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ऐन नबनेसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय


0
Shares

काठमाडौं, भदौ २८ । सरकारले चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भएको छ ।

डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनिराम पौडेल र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरी यो निचोड निकालिएको हो ।

प्रधानमन्त्रीले आठौं अनशनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र डा. केसीले अनशन बस्नु नपर्ने वातावरण बनाउन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

यसबारे जानकारी दिँदै स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा ऐन पारित नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिएको बताए ।

दुई/तीन दिनभित्र समस्या समाधान गर्ने गरि छलफल गरिएको भन्दै उनले चिकित्सा शास्त्र अध्ययन संस्थानमा डीनको तत्काल नियुक्ति गर्ने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई डा. केसीसँगको सम्झौताअनुसार नै प्रक्रियाअघि बढाइने जानकारी दिए ।

साथै सात प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय अनुरुप काम अघि बढाइएको जानकारी पनि उनले दिए ।

आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरित सम्वन्धन दिन लागेको भन्दै डा. केसीले २ गतेभित्र सम्झौता कार्यान्वयन गर्न सरकारलाई समय दिएका छन् ।

नभए असोज ३ गतेबाट नवौं आमरण अनशन सुरु गर्ने चेतावनी डा. केसीले दिइसकेका छन् ।