१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अमेरिकी परमाणु बमवर्षक विमान कोरियाली आकाशमा मडारिन थाले


0
Shares

सोल, भदौ २८ । अमेरिकी परमाणु बम वर्षक विमान अचानक आकाशमा देखिएका छन् । मंगलबार दक्षिण कोरियाली आकाशमा ‘सुपरसोनिक’ बम वर्षक विमान देखिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले केही समय यता परमाणु कार्यक्रमलाई बढावा दिइरहेको परिस्थितिमा अमेरिकाले दक्षिण कोरियालाई ढाडस दिन तथा उत्तर कोरियालाई हतोत्साही तुल्याउन रणनीतिक रुपमा बम वर्षक विमान उडाएको हो ।

‘सुपरसोनिक बी–१’ विमान ओसान बेस क्याम्पमाथि उडेको देखिएको हो । सो विमानलाई अमेरिकी र दक्षिण कोरियाली लडाकु विमानले आकाशमा सुरक्षा प्रदान गरेका थिए ।

अमेरिकाले सुपरसोनिकको उडानका बारेमा औपचारिक रुपमा केही बताएको छैन । उत्तर कोरियाले पनि यसबारे औपचारिक रुपमा प्रतिक्रिया जनाइसकेको छैन ।

उत्तर कोरियाद्वारा गरिएको पछिल्लो परमाणु परीक्षणलाई अमेरिका, दक्षिण कोरिया, जापान लगायतका मुलुकले गम्भीर रुपमा लिएका छन् । दक्षिण कोरियाले उत्तर कोरियाको त्यस्तो गतिविधि जारी रहेमा त्यसको जवाफ दिन आफू तयार रहेको बताएको थियो । अमेरिकाले पनि उत्तर कोरियाका विरुद्ध थप प्रतिबन्ध वा कारवाहीका लागि बिचार गर्ने जनाएको थियो । (एजेन्सी)