
काठमाडौं, भदौ २८ । बेल्जियन स्ट्राईकर रोमेलु लुकाकुले ११ मिनेटको अन्तरालमा ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति एभर्टनले सण्डरल्याण्डलाई ३-० ले हराएको छ ।
सण्डरल्याण्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा लुकाकु नायक बने ।
६१ औं मिनेटमा पहिलो गोल गरेका ल्ुकाकुले ६८ र ७१ औं मिनेटमा दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् ।
लुकाकुको यो गोल जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो गोल हो । सोमबार रातिको जितसँगै एभर्टन प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
४ खेलबाट उसको १० अंक छ भने समान १० अंक जोडेको चेल्सी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको १२ अंक छ ।
प्रतिक्रिया दिनुहोस्