२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


१० मुसामध्ये सातओटामा ‘माइट’ भेटियो


0
Shares

चितवन, भदौ २७ । स्क्रब टाइफस अध्ययनका लागि चितवन आएको प्राविधिकसहितको टोली नमुना संकलन गरेर सोमबार दिउँसो राजधानी फर्किएको छ ।

चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना संकलन गरेर टोली फर्किएको हो ।

टोलीले १० ओटा मुसा समातेर परीक्षण गर्दा सातओटा मुसामा स्क्रब टाइफस भनिने नयाँ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ फेलापरेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

‘माइट संकलन गरेर पठाइएको छ’–केसीले भने–‘त्यो माइट संक्रमित छ कि छैन भन्ने कुरा भने परीक्षणपछिमात्रै पत्ता लाग्नेछ ।’

काठमाडौंबाट आएको आठजनाको टोलीले मुसाको कलेजो, फोक्सो, मुटु किड्नी र रगतसमेत संमलन गरेर परीक्षणका लागि काठमाडौं लगेको केसीले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेको नेतृत्वमा टोली मुसाको अनुसन्धान गर्न चितवनमा आएको थियो ।

शुक्रबारदेखि सुरु भएको नमुना संकलन कार्य सकेर टोली फर्किएको लामिछानेले जानकारी दिए ।

उनकाअनुसार उक्त नमुना काठमाडौंमा थाइल्यान्डका विशेषज्ञसहितको टोलीले परीक्षण गरेपछि यकिन प्रतिवेदन आउनेछ । मुसामा पाइने माइट नामको संक्रमित किराले टोकेमा स्क्रब टाइफस रोग सर्छ ।

मुसाबाट झारमा झर्ने र झारबाट मानिसमा किरा टाँसिएर टोक्दा रोग लाग्ने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् ।

८६ जनाको नमुना परीक्षण

मुसाको अध्ययनका लागि आएको टोलीले स्क्रब टाइफस रोग लागेको मानिस, मृत्यु भएका व्यक्तिको परवार तथा स्थानीय गाउँले गरी ८६ जनाको रगतसमेत परीक्षणका लागि नमुना संकलन गरेको छ ।

मुसाको अध्ययन भएको क्षेत्रका स्थानीयवासीको यसरी रगत संकलन गरिएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।

पश्चिम चितवनको शारदानगर, पार्वतीपुर, शंकरचोक र विकासचोकमा रहेका विभिन्न घरमा यहाँ मुसाको अध्ययन गरी स्थानीयबासीकोसमेत नमुना संकलन गरिएको हो ।

नेपालमा आजसम्म स्क्रब टाइफसबाट सातजनाको मृत्यु भएको छ भने २३९ जनाका संक्रमण भएको पाइएको छ ।

केही दिनअघिमात्रै कान्ति अस्पतालमा उपचार गराइएका एकजनाको मृत्यु भएपछि मृतक संख्या सात पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेले जानकारी दिए ।

नेपालका ३२ जिल्लामा संक्रमण देखिएको स्क्रब टाइफस रोग वैशाखयता चितवनमा सबैभन्दा बढी १८९ जनामा फेलापरेको छ । रासस