
काठमाडौं, भदौ २६ । स्पेनिस लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ ।
स्टार खेलाडी लियोनल मेस्सी, लुईस सुवारेज र इनिएस्ता बिना नै मैदानमा ओर्लिएको बार्सिलोनालाई आलाभेजले २–१ ले हराएको हो ।
बार्सिलोनालाई उसैको मैदानमा हराउन आलाभेजका डेभर्सन र गोमेजले एक–एक गोल गरे ।
बार्सिलोनाका लागि जेरेमी म्याथ्युले एक गोल फर्काएका थिए । ६० औं मिनेटपछि मेस्सी, सुवारेज र इनिएस्ता मैदानमा छिरे पनि उनीहरुले खेलको परिणाम उल्टाउन सकेनन् ।
ला लिगा अन्तर्गत शनिबार राति भएको अर्को खेलमा रियाल मड्रिडले ओसासुनालाई ५–२ ले हरायो ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन रोनाल्डो, डानिलो, रामोस, पेपे र लुका मोड्रिचले एक–एक गोल गरे ।
ला लिगाअन्तर्गतका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४–० ले हराउँदा भियारीयालले मालागालाई २–० ले तथा सेभियाले लास पाल्मासलाई २–१ ले हराएका छन् ।
रातीका खेलपछि स्पेनिस लिगको अंक तालिकामा ३ खेलबाट ९ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ ।
समान खेलबाट ७ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लास पाल्मास र चौथो स्थानको बार्सिलोनाको ६-६ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्