
पूर्णप्रसाद मिश्र (रासस)
काठमाडौं, भदौ २३ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कू’पछि राखेको सुन्दरीजल बन्दीगृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो ।
वरिपरि डाँडाकाँडा र हरियालीबीच ग्रामीण परिवेशमा रहेको जेल नेपाली साहित्यका मनोवैज्ञानिक धारका सुरुआतकर्ता कोइरालाका लागि साहित्य रचनाको थलो बन्न पुगेको हो ।
बीपीलाई जेलमा लैजानुअघि उनको एउटामात्र कृति ‘दोषी चश्मा’ प्रकाशित भएकामा त्यसपछिका सबै कृति सुन्दरीजल बन्दीगृहमै जन्मिएका हुन् ।
बीपीको पहिलो कथासंग्रह ‘दोषी चश्मा’ २००६ सालमा प्रकाशित भएकामा राजनीतिक व्यस्तताका कारण २००७ देखि २०१७ साल पुस १ अघिसम्म अरु कुनै साहित्य रचना प्रकाशित भएको पाइँदैन ।
रोकिएको साहित्यिक क्रियाकलापका लागि बीपीलाई राजा महेन्द्रको ‘कू’ सिर्जनाको सुवर्ण अवसर बन्न पुग्यो । बन्दीगृहको प्राकृतिक सौन्दर्य र रमणीयताले बीपीलाई साहित्यिक कृति तयारपार्न थप उत्प्रेरणा प्रदान गरेको त्यस क्षेत्रको प्राकृतिक रमणीयताबाटै अनुमान गर्न सकिन्छ ।
यही उत्प्रेरणाले गर्दा बीपीले जेलमा ६ ओटा उपन्यास, एउटा कथासंग्रह, आफ्नो कथा र जेल जर्नल जस्ता साहित्यिक सिर्जना गरेको ‘बीपीको उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गरेकी साहित्यकार प्रा.डा. ज्ञानु पाण्डेले बताइन् ।
‘बीपीको सर्वांगीण पक्षलाई हेर्ने हो भने उहाँको साहित्यलाई हेर्नुपर्छ, राजनीतिकरुपमामात्र मूल्यांकन गरेर हुँदैन’–उनले भनिन् ।
सुन्दरीजल बन्दीगृह २०६१ साल भदौ २४ गते बीपी संग्रहालयकारुपमा घोषणा भयो । संग्रहालयमा बीपीको राजनीतिक व्यक्तित्वलाई झल्काउने चीजबीजकोमात्र संग्रह गरी उनको साहित्यिक व्यक्तित्वलाई ओझेलमा पारिएकामा साहित्यकारले असन्तुष्टि जनाएका छन् ।
‘बीपीको व्यक्तित्वबाट साहित्य झिकिदिने हो भने बाँकी व्यक्तित्वलेमात्र उहाँलाई पूर्णता दिन सक्दैन’–नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसमेत रहेकी प्रा.डा. पाण्डेले भनिन् ।
बीपीले सुन्दरीजल जेलमै बसेर लेखेका उपन्यासमा ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’, ‘बाबु आमा र छोरा’ एवं ‘हिटलर र यहुदी’ गरी ६ कृति छन् । चारओटा कथाको संग्रह ‘श्वेतभैरवी’, चर्चित ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ र ‘आफ्नो कथा’लगायतका कृतिको रचना पनि बीपीले सुन्दरीजल जेलमै गरे ।
जननिर्वाचित सरकारलाई सैनिकशक्तिको भरमा २०१७ साल पुस १ गते ‘कू’ गरेपछि बीपीसहितका नेतालाई २०१७ साल फागुनसम्म सिंहदरबारमा बन्दी बनाइयो ।
नेतालाई राख्न सुन्दरीजल आर्सनलका प्रमुख बस्ने सरकारी निवासलाई रातारात वरिपरिबाट पर्खालले घेरी २०१७ साल फागुनमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी, नेपालकै इतिहासमा पहिलोपटक निर्वाचित भएको संसदका सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङदेम्बे र सहायकमन्त्री दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।
सुन्दरीजल बन्दीगृहमा सारेपछि नै बीपी गृहभित्रको बुढो कपुरको रुखमुनि बसेर पुस्तक पढ्ने र लेख्ने गरिरहेको देखिनेगरेको जेलमा दूध लैजाने अनुमति पाएका स्थानीय मोदनाथ पोखरेल बताउँछन् ।
‘बिहान दूध लैजाने र दिउँसो बन्दीगृहभित्र घाँस काट्न अनुमति दिएकाले बीपीले कपुरको रुखमुनि बसेर लेखपढ गरिरहेको देख्थें, सुरुमा कुराकानी गर्न पहरा दिइ बसेका सैनिकले कडाइ गरेपनि पछि केही खुकुलो भएका बेला बीपीले नै बोलाएर कुराकानी पनि गर्नुहुन्थ्यो’–उनले भने ।
अरु राजबन्दी केहीलाई जेल सरुवा र केहीलाई रिहा गरेपछि बीपी तथा गणेशमानलाई २०२५ साल कात्तिक २५ गते रिहा गरियो । वि.सं. २०१७ देखि २०२५ सालसम्म बीपीले बन्दीगृहमै लेखेको दैनिकी नै ‘जेल जर्नल’कारुपमा चर्चित छ ।
उपचार र राजनीतिक कामका लागि २०२५ सालपछि बीपी र गणेशमान भारत निर्वासनमा गए । वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै नेतालाई फेरि सुन्दरीजल बन्दीगृहमा लगियो ।
यसपछि लेखिएको बीपीको दैनिकीलाई ‘फेरि सुन्दरीजल’ का नाममा प्रकाशित गरियो ।
संग्रहालयका अध्यक्ष परशुराम पोखरेल संग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणी धामकारुपमा स्थापित गर्ने अभियानमा लागिपरेको बताउँछन् ।
‘संग्रहालयमा बीपीको साहित्यिक सबै कृतिका साथै उहाँको साहित्यिक चीजबीजको पनि संग्रह छ, भूकम्पपछि भवन भत्किएकाले संग्रहित चीजबीजलाई एउटा कोठामा चाङ लगाएर राख्न बाध्य हुनुपरेको छ’–उनले भने ।
बीपीलाई जतिबेला ‘अर्राष्ट्रिय तत्व’का नाममा जेलमा राखिएको थियो, त्यही समयमा बीपीको साहित्य भने विश्वविद्यालयमा पढाइन्थ्यो ।
साहित्यबाट बीपीले सामाजिक सन्देश दिन खोजेपनि त्यस समयमा मनोवैज्ञानिक धाराका साहित्यकारकारुपमा चिनाइएको प्रा.डा. पाण्डे बताउँछिन् । बीपीको साहित्यमै विद्यावारिधि गर्ने साहित्यकार पनि डेढदर्जन पुगिसके ।
हरिप्रसाद पराजुलीले २०३७ सालमा ‘कथाकार विश्वेश्वरप्रसाद कोइरालाको विश्लेषण र मूल्यांकन’ विषयमा विद्यावारिधि शोध गरे । तर, डा. ध्रुवचन्द्र गौतमको निर्देशनमा भएको सो शोध व्यवस्थाका कारण २०४५ सालमामात्र सम्पन्न भयो ।
अहिलेसम्म डा. कृष्णप्रसाद दाहाल, डा. नारायण चालिसे, डा. रेणुका बस्नेत थापा (सोलु), डा. भूपति ढकाल (कमल), डा. वीरेन्द्र पुडासैनी, डा. श्यामप्रसाद भट्टराई, डा. देवचन्द्र मिश्र, डा. राधा शाह, डा. सूर्य संग्रौला र डा. विष्णु न्यौपानेले ‘पौरस्त्य पात्र विधान र विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास’ शीर्षकलगायत १६ जनाले बीपीको साहित्यमा आधारित भइ विद्यावारिधि शोध सम्पन्न गरेको बीपी ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।
‘शोधकाक्रममा मैले प्रत्यक्षरुपमा कोइरालासित ६ घन्टा लामो अन्तर्वार्ता गरें, अन्तर्वार्ताकाक्रममा हिटलर र यहुदी २०१५ सालमा प्रधानमन्त्री भएकाबेलामा सुरु गरी २०१७ साल पुस १ गतेको घटनापछि सुन्दरीजल बन्दीगृहमै पूरा गरेको उहाँले बताउनुभयो’–कोइरालाको कथामा पहिलो विद्यावारिधि गरेका हरिप्रसादले भने ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपी पिता कृष्णप्रसाद कोइराला राणाशासनविरुद्ध लागेका कारण लामो समय नेपालमा बस्न पाएनन् ।
भारत निर्वासनमा रहँदा विभिन्न ठाउँ घुमी हिँड्नु त्यस समयको बाध्यता थियो । विद्यार्थीकालदेखि भारतको स्वतन्त्रतासंग्राम हुँदै नेपालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा लागेका बीपी आठ वर्षसम्म एकै स्थानमा बसेको स्थल पनि बन्दीगृह नै हो भन्छन्, संग्रहालयका अध्यक्ष पोखरेल ।
संग्रहालय पुनःनिर्माण हुने
गत वर्ष वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको बीपी संग्रहालय पुनःनिर्माणको शुभारम्भ १०३औं बीपी जयन्तीका अवसरमा भदौ २४ गते शुक्रबार सुरु गरिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागको रु चार करोड ७९ लाख लागतमा संग्रहालय पुनःनिर्माण सुरु गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
वि.सं. २०७५ असार मसान्तसम्म संग्रहालय पुनःनिर्माण सम्पन्न हुनेछ । संग्रहालयलाई पुरानै स्वरुपमा पुनःनिर्माण गरिने संग्रहालय समितिले जनाएको छ ।
पुनःनिर्माणको शिलान्यास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्