
धनुषा, भदौ २३ । धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हतियार प्रहार गरिएको छ ।
इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा बुधबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।
प्रहरीकाअनुसार राति करिब १ बजे आधादर्जनभन्दा बढीको संख्यामा आएका अज्ञात समूहको आक्रमणमा परी घरमूली आयोधी दास तत्मा, उनकी ५० वर्षीया श्रीमती फूलकुमारी देवी, छोरी १७ वर्षीया प्रमिला र आठ वर्षीया रिंकु धारिलो हतियार प्रहारबाट घाइते भएका छन् ।
उनीहरुलाई टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते चारैजनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
पीडित परिवारकाअनुसार उक्त समूहले घरबाट नगद रु एक लाख र ५० हजार मूल्य बराबरको सुनचाँदीका गरगहना गरी रु एक लाख ५० हजारभन्दा बढीको धनमालसमेत लुटेर लगेका छन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका यदुकोहाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्