
काठमाडौं, भदौ २३ । ब्राजिलको रियो दि जेनेरियोमा पारा ओलम्पिक खेलकुद सुरु भएको छ ।
ऐतिहासिक मराकाना रंगशालामा बुधबार राति एक भव्य समारोहका बीच ब्राजिलका राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको उद्घाटन गरे ।
शारिरीक अपांगता भएका खेलाडीले प्रतिस्पर्धा गर्ने पारा ओलम्पिकमा यसपटक १ सय ६० राष्ट्रका ४ हजार ३ सय ५० खेलाडी सहभागी हुँदैछन् ।
यी खेलाडीले विभिन्न २२ खेलमा ५ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक पारा ओलम्पिकमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालका बिक्रमबहादुर रानाले एथ्लेटिक्स तथा लक्ष्मी परियारले पौडीमा प्रतिस्पर्धा गर्ने छिन् । दुई खेलाडीका लागि १६ पदाधिकारीसहितको टोली ब्राजिलको रियो पुग्दैछ ।
यसैबीच रियो दि जेनेरियोमा पारा ओलम्पिक उद्घाटन समारोहको मार्च पासका क्रममा बेलारुसका एक जना खेलाडीले रुसको झण्डा बोकेका छन् ।
बेलारुसको टोलीले मार्च पास गरिरहँदा एक खेलाडीले रुसी झण्डा बोकेपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्