
पोखरा, भदौ २२ । इमेज च्यानलले आयोजना गर्न लागेको लोकगीत गायनको बृहत प्रतियोगिता ‘इमेज लोक कलाकार’ प्रतियोगिताको अडिसन आगामी शुक्रबार पोखराबाट सुरु हुँदैछ ।
इमेज च्यानलले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । इमेज च्यानलका कार्यकारी निर्माता अनुपा श्रेष्ठले कार्यक्रमबारे जानकारी दिइन् ।
कार्यक्रम पोखराको होटल जलमहलको चचहुई फनपार्कमा हुनेछ । इमेज लोक कलाकारको अडिसन भदौ २४ र २५ गते पोखरामा, त्यसपछि धरान र काठमाडौंमा हुनेछ ।
हराउँदै गएको लोक–संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसँगै नयाँ प्रतिभाको खोजीस्वरुप यो प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।
पोखरा अडिसनका लागि लोक कलाकारहरु पुरुषोत्तम न्यौपाने, तेजेन्द्र गुरुङ र शान्ति गुरुङ निर्णायकमा रहेका छन् ।
प्रतियोगितामा भाग लिन चाहनेले दुई सय रुपैयाँ शुल्क तिरेर आवेदन फारम भरी प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
अन्तिम चरणमा उत्कृष्ट हुने प्रतिभालाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कारका साथै म्यूजिक भिडियोसहितको गीति एल्बम निकाल्ने अवसर प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्