
उत्तरी आयरल्याण्ड, चैत २८ । एटीएम मेशिनबाट रकम चोरी भएको घटना बारम्बार प्रकाशमा आउने गरेका छन् तर चोरले एटीएम मेशिन नै चोरी गरेको घटना भने अनौठो नै हो ।
उत्तरी आयरल्याण्डमा चोरको एक गिरोहले एटीएम मेशिन नै चोरेको छ । मास्क लगाएर आएका चारजनाको समूहले एटीएम मेशिन चोरेका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार उनीहरुले एटीएम मेशिन चोर्नका लागि क्रेन नै लिएर आएका थिए । उक्त क्रेनसमेत उनीहरुले चोरी गरेर ल्याएको रहस्य खुलेको छ ।
नजिकै भवन निर्माणमा प्रयोग गरिँदै आएको क्रेन चोरेर उनीहरुले एटीएम मेशिन उखेल्न प्रयोग गरेका थिए । सिसिटिभी फुटेजमा देखिएअनुसार सुरुमा उनीहरुले एटीएम मेशिन रहेको सानो कोठाको छत क्रेनको सहायताले भत्काएका छन् । त्यसपछि उनीहरुले क्रेनकै मद्दतमा एटीएम मेशिन उखेलेर बाहिर निकालेको देखिन्छ ।
उनीहरुले छत खुला भएको एउटा कारमा एटीएम मेशिन राख्ने कोसिस गरे पनि मेशिनको साइज ठूलो भएका कारण कारभित्र पुरै नछिरे पनि सोही अवस्थामा उनीहरु कार लिएर फरार भएका छन् ।
सन् २०१९ मा उत्तरी आयरल्याण्डमा यस प्रकारका चोरीका आठ घटना प्रकाशमा आएका छन् । एटीएम चोरीका घटना बढेपछि प्रहरीले विशेष टिम बनाएर चोरी नियन्त्रणमा प्रयास गरे पनि सफल हुन सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्