११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मुग्लिनबाट २ सय ८२ किलो चरेस बरामद


0
Shares

चितवन, भदौ २१ । मुग्लिन बजारमा मंगलबार बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ ।

मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिप्रका चितवनले सुराकीका आधारमा २ सय ८२ किलो चरेस बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नम्बरको ट्रकमा १४ बोरामा २ सय ८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो ।

ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको उनले बताए । चरेस ओसारपसारमा संलग्न भरियाको धादिङमा खोजी भइरहेको छ ।

यति ठूलो परिमाणको चरेस जिल्लामा नियन्त्रणमा लिइएको सम्भवतः पहिलो भएको उनले बताए ।

यसैबीच मंगलबार बिहानै पूर्वी चितवनको भण्डारमा रहेको प्रहरी चौकीबाट २५ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला गाविस–५ का ३९ वर्षीय दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का २३ वर्षीय ईश्वर अर्याल छन् ।

बुलन र लामाको झोलाबाट गाँजा बरामद भएको हो । उनीहरु वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ३५०३ नम्बरको बसमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको जनाइएको छ । (रासस)