१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


गिरफ्तार गरिएको रुख, फलामे सिक्रीले बाँधेर राखिएको छ यसलाई


0
Shares

खैबर, भदौ २१ । अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो ।

पाकिस्तानमा एउटा रुख बन्दी जीवन बिताइरहेको छ । झण्डै १२ दशकदेखि यो रुख बन्दी बनेको हो ।

खैबर एजेन्सीको लान्डी कोटल सैन्य शिविरमा रहेको यो रुखलाई फलामे साङ्लोले बाँधेर राखिएको छ ।

ब्रिटिश साम्राज्यकै समयमा यो रुखलाई एक सैनिक कमाण्डरले गिरफ्तार गराएका हुन् । समाचार एजेन्सीहरुका अनुसार मदिरापान गरेर आइरहेका ती ब्रिटिश सैनिक कमाण्डरले उक्त रुख आफूतिर आइरहेको महसुस गर्दै आफ्ना सैनिकलाई उक्त रुख गिरफ्तार गर्न आदेश दिएका थिए ।

त्यसपछि ब्रिटिश सैनिकको टोलीले उक्त रुखलाई गिरफ्तार गर्दै फलामे साङ्लोले बाँधेको हो ।

ब्रिटिश शासनबाट स्वतन्त्र भएको ७ दशक बित्दासमेत यो रुखलाई अझै मुक्त गराइएको छैन । पाकिस्तानी अधिकारीहरुका अनुसार यो रुखमा बाँधिएको फलामे साङ्लोले नै ब्रिटिश साम्राज्यमा हुने गरेको अत्याचार र दमनलाई प्रतिबिम्बित गर्दै आएको छ ।

यो रुखमा एउटा प्लेटमा अंग्रेजी भाषामा लेखिएको छ, ‘म गिरफ्तारमा छु ।’

अहिले यो रुख पाकिस्तानमा पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको छ । (एजेन्सी)